नयाँ संविधानमा थारू मुद्दा

नयाँ संविधान जारी गर्ने १४ जेठको समय नजिकिँदै जाँदा आदिवासी जनजातिलगायत विभिन्न, वर्ग, लिंग, समुदायबाट आफ्नो पहिचानसहितको अस्तित्वका लागि दबाब तीव्र हुँदै गएको छ । अल्पसंख्यक, सीमान्तकृत, दलित, मुस्लिम, मधेसी, पिछडिएका नागरिकको हक, अधिकार संविधानमै स्थापित गराउन उनीहरूका संघसंस्थामार्फत जनदबाबमा लागिपरेका छन् । नियमितजस्तो हुने राजनीतिक दलका नेताको बैठकमा गरेको सहमतिमा राज्यबाट पिछडिएका वर्गको अधिकार सम्बोधन भयो कि भएन भन्ने जानकारी लिन सबै आतुर छन् ।
नेपाली नागरिक पहिलेको तुलनामा अहिले बढी जागरुक छन् । तराईका भूमिपुत्रका रूपमा चिनिने थारू जाति अहिले तुलनात्मक रूपमा अधिकारबारे जागरुक छ । सिधा र इमानदार जातिको पहिचान बनाएको थारूजाति यसअघि राज्यबाट निकै ठगिएको जाति हो । टाठाबाठा तथा चतुर वर्गबाट निकै शोषित भएको जाति हो । कमैया, कमलरी, हरुवा, चरुवाजस्तो दासदासी जीवन यी समुदायका नागरिकले निकै गुजार्नुपर्‍यो । अहिले नयाँ संविधान बन्ने क्रममा फेरि त्यस्तो दासदासी जीवन बिताउन नपरोस् भन्ने चिन्ता बाँकी छ । दासदासी जीवनको क्षतिपूर्ति राज्यले दिनुपर्ने माग गर्दै अहिले यो जाति आन्दोलनमा छ । नयाँ संविधानमा आफ्नो छुट्टै अस्तित्व र पहिचानको खोजीमा छ । थारूको पहिचानलाई समुल नष्ट गर्ने दुष्प्रयास पटक–पटक भएको छ । यस्तो अवस्थामा थारूहरू जीवनमरणको लडाइँ लड्न तयार छन् । आफ्नो थातथलो र उद्गम भूमिलाई कुनै हालतमा अरूको पञ्जामा जान दिने अवस्थामा छैनन् । यी जातिको पहिचानलाई नामेट पार्ने गरी मधेसको नाममा विभिन्न षड्यन्त्र हुने गरेको छ । हिजोसम्म केही पहाडिया मूलकाहरूले थारूको जीवनमा निकै खेलबाड गरे । अहिले मधेसीको नाममा थारूको पहिचान समाप्त पार्ने षड्यन्त्र भइरहेको छ ।
आफ्नो अधिकार प्राप्तिका लागि थारूले ठूला–ठूला आन्दोलन गरिसकेका छन् । थारूलाई मधेसीकरण गर्ने दुष्प्रयासलाई यी जातिले चेतावनी दिएका छन् । प्राय: सबै राजनीतिक दलका नेताले थारूको इमानदारिताको फाइदा उठाउँदै उनीहरूलाई मधेसीकरण गर्ने दुष्प्रयास गरे । दलले संविधानसभा निर्वाचनमा सबै थारूलाई मधेसी कोटाबाटै उम्मेदवार बनाए । जबकि थारूको पहिचानबारे सबै दल जानकार छन् । तर, राजनीतिमा पहुँच नभएकै कारण सत्ता समीकरण बनाउन मधेसवादी दलका नेतासँग मिलेर सीमित स्वार्थका लागि थारूको पहिचानलाई लिलाम गर्न चाहने गद्दारीलाई थारूले कसरी बुझ्ने ? मधेसीलाई एक मधेस एक प्रदेश नदिए देश टुक्रयाउनेसम्मको चेतावनी सहेर पनि नेताहरूले थारूप्रति गद्दारी गरिरहे । यद्यपि देश टुक्रयाउनेविरुद्ध जाइलाग्न सक्ने तराईमा कुनै समुदाय छ भने त्यो थारू मात्रै हो । आफ्नो उद्गम भूमि, थातथलोलाई टुक्रयाएको थारू समुदायलाई साय हुनेछैन । त्यसैको परिणाम मधेस आन्दोलनलाई थारू आन्दोलनले माथ दियो । थारूको शक्ति देखेर मधेसी समुदायमा ठूलो हलचल भयो । थारूलाई आफ्नो हातमा नलिएसम्म तराईलाई कब्जा गर्न नसकिने कुरा मधेसी समुदायले राम्ररी बुझेको छ । मधेसवादी दलका नेताले अहिले थारूलाई फकाउने कसरत सुरु गरेका छन् ।
मधेसवादी दलका नेताले जति प्रयास र मिहिनेत गरे पनि थारूहरू आफ्नो मातृभूमिप्रति गद्दारी गर्नेवाला छैनन् । यहाँका टाठाबाठा मानिने केही जातजाति आफ्नो स्वार्थका लागि गद्दारी गर्न सक्लान् तर थारू जातिले गर्दैन । यो कुरा पनि सत्य हो कि थारूको पहिचान र अस्तित्व मेट्ने प्रयास जसले जति गरे पनि अब सक्दैन । थारूहरू विभिन्न भेला, सम्मेलन गरेर पटक–पटक आफ्नो अधिकारबारे छलफल गरेका छन् । नयाँ संविधानमा आफ्नो अधिकार कसरी सम्बोधन गराउने भन्नेबारे विगत चार वर्षदेखि यी जाति कसरतमा छन् । पछिल्लो समय ८ वैशाखदेखि १० गतेसम्म चित्तवनमा थारूको गोलमेच सम्मेलन सम्पन्न भयो । सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा तराईलाई तीनवटा प्रदेशको परिकल्पना गरिएको छ । उत्तर–दक्षिणको प्रदेशलाई अस्वीकार गर्ने बताएको छ । पश्चिम महाकालीदेखि चित्तवनसम्म एउटा थरुहट प्रदेश, पर्सादेखि धनुषासम्म अर्को स्वायत्त प्रदेश र सिराहादेखि झापासम्मको तराईलाई पूर्वी थरुहट स्वायत्त प्रदेशको माग अगाडि सारेको छ । यद्यपि मधेसवादी दलका नेता तराईलाई एक प्रदेशको परिकल्पना गर्दै आएका छन् । तर, त्यो परिकल्पनालाई थारूले कुनै हालतमा साकार हुन दिने पक्षमा छैनन् । तराईलाई एक प्रदेश बनाएर नेपाली भू–भागलाई भारतीय भू–भागमा मिसाउने षड्यन्त्रका रूपमा थारूले लिएको छ । त्यसैले पनि मधेसी समुदायसँग थारूले हात मिलाउनेवाला छैन ।

प्रतिक्रिया