नेपालको विकासमा दातृ निकायको सहयोग

स्पष्ट नीतिको अभाव

डा. चिरञ्जीवी नेपाल  अर्थविद्

दातृ निकायले नेपालको प्राथमिकताअनुसार खर्च गर्दैनन् । उनीहरूको खुसीअनुरूप यहाँ खर्च र लगानी भइरहेको छ । महालेखाको रिपोर्टअनुसार दातृ निकायबाट सञ्चालित २१ परियोजनामध्ये १८ वटा परियोजनामा कसरी लगानी भइरहेका छन् भन्ने कुनै स्पष्ट छैन । आव २०६६/६७ मा नेपाल ८३ वटा आयोजनाका लागि १७ अर्ब रुपियाँ बराबरको सम्झौता भएका थिए । ७५ वटा सहयोगका क्षेत्रमा २२ वटा संस्था थिए भने आठवटा सहयोगका कुनै संस्था फेला परेनन् । त्यस्तै परामर्श खर्च भनेर ६.३ प्रतिशत, वस्तु खरिदमा ३.५७, तालिम र सेमिनारमा २.७० र अन्य खर्चमा ८७ प्रतिशत छुट्याइएको छ । यसले नेपालमा कहाँबाट कसरी लगानी र सहयोग भइरहेको भन्ने पुष्टि गर्छ ।

 

 

सहयोग आवश्यक

महेन्द्र यादव    सभासद्, कांग्रेस

नेपालमा अहिले शान्तिप्रक्रिया र संविधान निर्माणको कार्यले तीव्रता पाइरहेको छ । नयाँ संविधान कार्यान्वयन र जनतामा शान्तिको प्रत्याभूति दिलाउन पनि यस्तो बेला विकास निर्माणको कार्यलाई पनि तीव्रता दिइनु जरुरी भएकाले दातृ निकायको सहयोग आवश्यक छ । क्यानाडाले नेपाललाई गर्दै आइरहेको सहयोग कार्यक्रम रोक्नु हाम्रा लागि राम्रो संकेत होइन । नेपालका तर्फबाट केही कमीकमजोरी, भ्रष्टाचार तथा अनियमितता भएका होलान् तर यसो भन्दैमा सहयोग कार्यक्रम नै रोक्न सुहाउँदैन । भ्रष्टाचार नियन्त्रणका लागि पनि पछिल्लो समय नेपालमा उदाहरणीय काम पनि भएका छन् । तसर्थ, नेपालले पनि कूटनीतिक पहल गरेर रोकिएका सहयोग कार्यक्रमलाई निरन्तरता दिलाउन सक्नुपर्छ ।

प्रतिक्रिया