सीमाका भारतीय लुटेरा पक्राउ


नेपालगन्ज, १६ वैशाख । प्रहरीले भारतीय सीमा बजारमा नेपालीलाई नसालु पदार्थ खुवाएर लुट्न लागेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।
जुम्लाका वीरेन्द्र परियारलाई लुट्ने क्रममा प्रहरीबाट बहराइच मटेलाका २१ वर्षीय राजु कश्यप पक्राउ परेका हुन् । भारत मुम्बईबाट फर्कंदै गरेका परियारलाई मिरिन्डामा नसालु पदार्थ हालेर जमुनाह नाकामा लुट्ने प्रयास भइरहेका बेला प्रहरीले कश्यपलाई पक्राउ गरेको हो ।
आफूलाई नसालु पदार्थ खुवाएको थाहा पाएपछि परियार भागेर नेपालस्थित जमुनाह प्रहरी चौकीमा आएका थिए । चौकीअगाडि नै बेहोस भएर लडेका परियारको खल्तीबाट पैसा निकाल्दै गरेका कश्यपलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले जानकारी दिए ।
भारतबाट फर्कंदा सीमा क्षेत्रमा नेपाली लुटिने क्रम बढेको छ । कमाइ गरेर घरखर्च टार्ने सपना बुनेर घर आइपुग्नै लाग्दा लुटिने क्रम बढेको छ । लुटिएकाहरू रित्तो हात घर फर्कन बाध्य छन् । जमुनाह प्रहरी चौकीका सई महेन्द्र रानाले भने, ‘सीमा बजारमा लुट्ने क्रम बढेको छ ।’
भारतमा काम गरी घर फर्केका नेपालीमध्ये साउनयता १७ रुपैडिहा बसपार्कमा लुटिएको रानाले जानकारी दिए । ‘ती सबैलाई बेहोस गराएर लुटिएको थियो,’ उनले भने, ‘औषधि सेवन गराई लुटिएको अवस्थामा उद्धार गरेर रित्तो हात घर पठाउँदा नमज्जा हुन्छ ।’
भारतका विभिन्न स्थानबाट रुपैडिहा आउने बसमा यात्रा गर्नेमध्ये कतिपय यात्रु बसपार्क पुग्दा बेहोस भइसकेका हुन्छन् । लुटिनेमा अधिकांश पहाडी जिल्लाका छन् । सीमा सुरक्षा बैठकमा ज्यानकै जेखिम हुने गरी भइरहेका लुटपाटका घटना नियन्त्रण गर्न नेपाली पक्षले समकक्षीसँग आग्रह गर्दै आए पनि भारतीय पक्षले चासो लिएको छैन । बाँकेका सिडिओ ढुण्डीराज पोखरेल भन्छन्, ‘भारतीय पक्षले पनि विषालु पदार्थ खुवाएर लुटपाट गर्नेहरूको खोजी भइरहेको आश्वासन दिने गरेको छ ।’

प्रतिक्रिया