‘नयाँ वजेट ४ खर्ब ३९ अर्वको आउने’

काठमाडौं, १५ वैशाख । संसीय समितिले आगामी आर्थिक वर्ष– २०६९/०७० को बजेटमा कृषि, पर्यटन र जलविद्युत्लाई राष्ट्रिय गौरवका आयोजनामा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएको छ । आगामी नयाँ वजेट ४ खर्ब ३९ अर्व बराबरको हुने सम्बन्धित निकायले जनाएको छ ।
व्यवस्थापिका–संसदको अर्थ र श्रम सम्बन्ध समितिको आज सिंहदरवारमा बसेको बैठकमा गैरबजेटरी निकासालाई कम गर्नका लागि पनि कृषि, पर्यटन र जलविद्युत्जस्ता आयोजनामा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइएको हो ।
समितिका सदस्यहरु तिलक रावल, जिपछिरिङ शेर्पा, शेरबहादुर कुँवर र दुर्गा परियारले राष्ट्रिय महत्वका विषयमा अध्ययन गरेर मात्र नीति तथा कार्यक्रममा समावेश गरी सोही बमोजिमको बजेट ल्याउनुपर्नेमा जोड दिनु भयो ।
उहाँहरुले कृषि, पर्यटन र जलविद्युत्जस्ता अर्थतन्त्रका मेरुदण्डकारुपमा रहेका विषयलाई प्राथमिकता दिएर ती आयोजनालाई राष्ट्रिय महत्वका आयोजनाकारुपमा विकास गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सरकारले महत्वकाङ्क्षी नीति तथा कार्यक्रम बनाए पनि कार्यान्वयन नगरेकाले जनतामा निराशा छाएको, सरकारको स्रोत, साधन र सामथ्र्यले गर्नसक्ने कार्यक्रममात्रै ल्याइनुपर्ने तथा जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रकारका सुधार हुनु आवश्यक भएकोमा पनि उहाँहरुको जोड थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले चार खर्ब ३९ अर्बभित्र रहेर आर्थिकवर्ष २०६९/०७० को बजेट ल्याउने तयारी भइरहेको बताउँनु भयो ।
उहाँले बजेट बाँडफाँडमा राजनीतिक तहबाट दबाब आउने गरे तापनि प्रचलित नियम–कानूनलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने र कार्यक्षदक्षताका आधारमा बजेट तर्जुमा गरिने स्पष्ट पार्नुभयो ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाले लगानी वातावरणमा विश्वासिलो आधार तय भइनसकेको वर्तमान अवस्थामा बाह्य र आन्तरिक आयस्रोत तथा अनुदानलाई आधार बनाएर फ्रिज हुने किसिमले बजेट ल्याउँदा समस्या हुने बताउनुभयो ।

प्रतिक्रिया