‘अख्तियारको निर्देशनप्रति सरकार रुष्ट’

काठमाडौं, १५ वैशाख । गैर वजेटरी रकमलाई लिएर अख्तियारले बिहीबार दिएको निर्देशनप्रति सरकार रुष्ट बनेको छ ।
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले अख्तियारले आफ्नो दायरा र कानून विपरित गएर निर्देशन दिएको ठहर गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै अर्थमन्त्री बर्षमान पुनले भने, ‘अख्तियारले कानूनलाई मिचेर निर्देशन दिएको छ, यस बिषयमा उनीहरुसँग छलफल गर्न आवश्यक छ ।’
प्रभावशाली नेता र मन्त्रीको दबावमा बिभिन्न शीर्षकमा रहेका रकम विनियोजन गरेर आफूखुशी बिभिन्न योजनामा लैजाने क्रम बढेपछि अख्तियारले बिहीबार सरकारलाई पत्र पठाई सो कार्य नगर्न निर्देशन दिएको थियो ।
यद्यपि सरकारले अख्तियारको निर्देशनलाई कानून विपरित भन्दै अवज्ञा गर्ने संकेत गरिसकेको छ ।
मन्त्री पुनले भने, ‘सरकारका अधिकांश काम गैर वजेटरीबाट हुन्छ, पत्रकारलाई राहत दिने, उपत्याकाको सडक विस्तार, फुटपाथका काम सबै गैर बजेटरीबाटनै हुन्छ ।’
उनले अख्तियारको निर्देशन सरकारको काम र अधिकार माथि हनन् गरेको दाबी गरे ।

प्रतिक्रिया