पाँच तिब्बतीले लिएको नागरिकता रद्द

पोखरा, १५ वैशाख । फर्जी कागजात पेस गरेर पाँच तिब्बतीले नेपाली नागरिकता लिएको खुलासा भएको छ । उनीहरुले लिएको नागरिकता सिडिओले छानबिनपछि रद्द गरेका छन् भने प्रहरीले उनीहरुमध्ये चारजनालाई पक्राउ गरेको छ ।
मुस्ताङ चराङ गाविस– २ बाट पोखरा उपमहानगरपालिका–२ मा बसाइँ सरेको कागज पेस गरेर जिल्ला प्रशासन कार्यालय(जिप्रका) कास्कीबाट उनीहरुले नागरिकता लिएका हुन् । ५ वैशाखमा छिरिङयाङजोम गुरुङ, याङ्चेन गुरुङ, डिकीडोल्कर गुरुङ, ल्हामुडोल्कर गुरुङ र पेमा धनदुल गुरुङले नागरिकता लिएका थिए । कास्की प्रशासनले छिरिङलाई ४६१००१/१९०५८, याङ्चेनलाई ४६१००१/१९०५९, डिकीलाई ४६१००१/१९०६६, ल्हामुलाई ४६१००१/१९०६७ र पेमालाई ४६१००१/१९०६८  नम्बरको नागरिकता दिएको थियो ।
प्रारम्भिक सूचनाका आधारमा नागरिकता लिने तिब्बती भएको बुझिएको छ । नागरिकताका लागि हजुरबुबा थुक्तेन गुरुङले सनाखत गरेको जिप्रका कास्कीको फाइल रेकर्डमा उल्लेख छ । पोखरा उपमहानगरपालिका–२ का वडा सचिव रविचन्द्र जमरकट्टेलको सिफारिसमा प्रशासनले नागरिकता दिएको हो । जमरकट्टेल सम्पर्कमा छैनन् । झुट्टा विवरणको कागजात पेस गरी नागरिकता लिनेलाई कास्की प्रहरीले ६ वैशाखमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुस्ताङ ल्होमान्थाङ–१ का १७ वर्षीय धनदुल गुरुङ भनिने न्हिमावाङदी गुरुङ, इलाम नगरपालिका–२ का १९ वर्षीय ल्हामु छिरिङ गुरुङ भनिने लमु शेर्पा, इलाम घर भई पोखरा–८ बस्ने ६९ वर्षीय थुतेन गुरुङ र मुस्ताङ ल्होमान्थाङ–३ घर भई काठमाडौं–१५ स्वयम्भू बस्ने २७ वर्षीय अमित गुरुङ भनिने रिन्जिनवाङदी गुरुङ रहेका छन् ।
छिरिङ र याङ्चेनको नागरिकताको प्रमाणपत्रमा प्रशासकीय अधिकृत पुष्पराज पौडेलले तथा डिकी डोल्कर, ल्हामु डोल्कर र पेमा धन्दुलको नागरिकतामा उपसचिव सूर्यप्रसाद काफ्लेले हस्ताक्षर गरेका छन् । थुक्तेनले नक्कली हजुरबुबा बनेर अमेरिकामा रहेका बुचुङटेम्पा गुरुङका पत्नी, छोरा र छोरीलाई नागरिकताका लागि सनाखत गरेका छन् । थुक्तेनले पोखरा– २ मा बसाइँसराइ गरेको कागजपत्र देखाएर ३२ वर्षीया छोरी याङ्चेन, ४२ वर्षीया बुहारी छिरिङ याङ्चोङ, २४ वर्षीया नातिनी डिकी डोल्कर, २२ वर्षीया नातिनी पेमा धन्दुल र १९ वर्षीय नाति ल्हामु छिरिङको सनाखत गरेर वडा कार्यालयको सिफारिससहित नागरिकताको प्रमाणपत्रका लागि प्रशासनमा निवेदन दिएका थिए ।
सचिव जमरकट्टेलले उनीहरुलाई चराङ गाविसबाट बसाइँ सरेर आएको प्रमाणपत्र दिएर नागरिकताका लागि ४ वैशाखमा सिफारिस गरिदिएको जिप्रका कास्कीको ढड्डामा देखिएको छ । सामान्यतया नागरिकताका लागि वडामा चिनेजानेका छिमेकीले सनाखत गर्ने गरे पनि उपमहानगरपालिकामा भने वडा सचिवले सिधै अभिभावकको सनाखतमा नागरिकताका लागि सिफारिस गरेका छन् । नागरिकता लिनेको पोखरामा घरजग्गासमेत छैन ।
पाँच तिब्बतीलाई नागरिकता दिन लागेको सूचना सिडिओ चेतनाथ भट्टराईलाई एक नागरिकले फोनमा दिएका थिए । सोही सूचनाका आधारमा सिडिओ भट्टराईले आफूमातहतका कर्मचारीलाई छानबिन गर्न निर्देशन दिएका थिए । उनले भने, ‘नक्कली कागजातका आधारमा नागरिकता लिइएको जानकारी पाएपछि छानबिन गर्न निर्देशन दिएको थिएँ ।’
नक्कली कागजातका आधारमा नागरिकता लिएको थाहा पाएपछि सिडिओ भट्टराईले ८ वैशाखमा निर्णय गरी १० वैशाखदेखि लागु हुने गरी नागरिकता रद्द गरेका छन् । नागरिकता ऐन ०६३ र नियमावली ०६३ को दफा १२ मा नक्कली कागजात प्रस्तुत गरी विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिए जारी गर्ने निकायले रद्द गर्न सक्ने प्रावधान टेकेर नागरिकता रद्द गरिएको हो । ऐन र नियमावलीको दफा २१ मा नक्कली कागजात पेस गरी नागरिकताको प्रमाणपत्र लिएको भेटिएमा एकदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । यस्तै नक्कली कागजातका आधारमा नागरिकता प्रमाणपत्र लिनका लागि सनाखत गर्ने र सिफारिस गर्नेलाई ६ महिनादेखि तीन वर्ष कैद वा २५ हजार रुपियाँदेखि ५० हजार रुपियाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।
नागरिकताका लागि आवेदन दिएकाको विवरण बसाइँ सरेको जिल्ला मुस्ताङ र बसाइँ सरी आएको उपमहानगरपालिका–२ मा बुझ्दासमेत नक्कली भेटिएको  प्रशासकीय अधिकृत  पौडेलले बताए । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले भने उनीहरु तिब्बती भए नभएको खुल्न बाँकी रहेको बताएको छ । एसपी शैलेश थापा क्षेत्रीले भने, ‘सिफारिस गर्ने वडा सचिव फरार भएकाले उनीहरुका बारेमा अनुसन्धान बाँकी रहेको छ ।’

प्रतिक्रिया