मुलुकमा लोकतान्त्रिक संविधान आउछः कांग्रेस

काठमाडौ, १४ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्तिप्रक्रिया टुङगो लगाए पछि लोकतान्त्रि संबिधान निर्माण हुने दाबी गरेका छन् ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले शान्तिप्रक्रिया टुङगोमा पुग्नेप्रति कसैले शंका गर्न नहुने बताए ।
मुलुकमा अब विचारको मात्र द्धन्द्ध हुने उल्लेख गर्दै उनले भने, ‘अब शान्तिप्रक्रिया टुङ्गिएर संबिधान निर्माण हुने छ ।’
कोइरालाले संबिधान निर्माणमा देखिएका धेरै विवादित विषयमा सहमति भइसकेको उल्लेख गर्दै शासकीय स्वरुप र संघीयताको विषयमा पनि छिट्टै सहमति निर्माण हुने दाबी गरे ।
कोइरालाले कांग्रेसको सबैभन्दा चिन्ता शान्तिप्रक्रिया टुङगोमा पुराउने र लोकतान्त्रिक संबिधान निर्माण गर्ने भएको बताए । उनले मुलुकमा शान्ति प्रक्रिया टुङगोमा पुराएरै लोकतान्त्रिक संबिधान जारी हुने दाबी गरे ।
गिरिजाप्रसाद कोइरालाले लिएको एकता, सहमति र सहकार्यको नीति अनुसार नै दलहरुबीच संबिधान निर्माणमा देखिएका विवादमा सहमति भइरहेको उनले बताए ।
उनले भने, ‘सहमति, एकता र सकार्यको नीति अनुसार नै कांग्रेस अघि बढिरहेको छ ।’
महामन्त्री प्रकाशमान सिंहले माओवादीलाई प्रजातान्त्रिक मुलधारमा ल्याउन केही समय लागेको बताए । तर, कांग्रेसको अडानका कारणा माओवादी प्रजातान्त्रिक मुल्यमान्यतालाई आत्मसाथ गर्न बाध्य भएको महामन्त्री सिंहले दाबी गरे ।

प्रतिक्रिया