थ्रीस्टार तेस्रोपटक फाइनलमा


काठमाडौ, १४ वैशाख । दुई पटकको विजेता मेगा थ्रीस्टार क्लब तेस्रो ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा विक्रम लामाले अतिरिक्त समयमा गरेको गोलको मद्दतमा थ्रीस्टारले हिमालयन शेर्पालाई पराजित गरेको हो । अतिरिक्त समयको १९ औं मिनेटमा रवि थापाको लामो क्रसमा लामाले पहिलो बारमा डाइभ हेड हान्दै गोल गरे । यसअघि खेलमा प्रभाव जमाए पनि थ्रीस्टारले थुप्रै मौका गुमाएको थियो । थ्रीस्टारले फाइनलमा नेपाल पुलिस क्लब र लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबबीचको विजेतासँग खेल्ने छ ।
यसअघि दुवैपटक उपाधि जित्ने क्रममा थ्रीस्टारले फाइनलमा मनाङलाई पराजित गरेको थियो । पछिल्लो ६ महिनामा दुई उपाधि जितेको थ्रीस्टारको दुवै उपाधि यात्रामा विक्रमको भूमिका चर्चा गर्नलायक  थियो । थ्रीस्टारले ६ महिनायता बुढा सुब्बा गोल्डकप र उदयपुर गोल्डकपको उपाधि जितिसकेको छ ।
बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टार रक्षापंक्तिको खेल निकै स्तरीय थियो । रवि थापा, विष्णु सुनुवार ,सन्दीप राई र विराज महर्जनको समन्वय साँच्चै स्तरीय रह्यो । ३९ आं मिनेटमा दायाँ रक्षक रघु प्रजापतिलाई विष्णुले प्रतिस्थापन गरेपछि थ्रीस्टारको प्रदर्शन एकाएक फेरिएको थियो । विष्णु सन्दीपसँंगै अन्तिम जोडीको रुपमा रहेपछि रविले त्यसपछि दायाँ रक्षकको भूमिका निर्वाह गरेका थिए । विराज र रविको ओभरल्याप र सन्दीपको लामो स्वीचका कारण थ्रीस्टार खेल अवधिभर  प्रभाव जमाउन सफल रह्यो । विष्णु पनि आफ्नो रक्षक भूमकामा प्रभावशाली रहे ।
हिमालयनले छोटो पास खेल्दै खेलमा आकर्षण दिलाए पनि थ्रीस्टारको रक्षापंक्तिलाई पार गर्न सकेन । पछिल्लो दुई संस्करणमा मनाङ मस्र्याङ्दी क्लबलाई फाइनल प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गणेश खड्काले विंगबाट केही दबाब दिए पनि प्रतियोगिताकै  आकर्षण मानिएका दिनेश कार्की थ्रीस्टारविरुद्ध त्यत्ति जम्न भने सकेनन् । कप्तान पुकार गहतराज र रुपेश केसीले  केही राम्रो मुभको प्रयास गरे पनि हिमालयनका फरवार्ड जांगबु शेर्पा र कुञ्जन गुरुङको भूमिका खासै देखिएन । थ्रीस्टारका सन्तोष साहुखल सबैभन्दा निष्प्रभावी रहे । उनले ३० औं मिनेटमा विशन गौचनले दिएको पासमा राम्रो टर्न गर्दै हिमालयनका रक्षक सचिन्द्र धिमाललाई बिट गरे पनि पोस्टको दिशा भने दिन सकेनन् ।
राम्रो मौका गुमाउनेमा थ्रीस्टारका अर्का फरवार्ड बुद्ध चेम्जोङ पनि रहे । दोस्रो हाफको सुरुआतमै उनले डी बक्सभित्र पाएको बललाई गोलको दिशा दिन सकेनन् । ५० आंै मिनेटमा विजय धिमालको पासमा बुद्ध फेरि एक पटक गोल गर्न चुके । ६१ आंै मिनेटमा विराजले लामो दूरीबाट सानदार प्रहार गरे पनि हिमालयनका गोलरक्षक विनय श्रेष्ठले त्यसलाई बचाए । पूर्व राष्ट्रिय खेलाडी अनिल ओझा भने अतिरिक्त समयमा मात्र मैदानमा प्रवेश गरे । नियमित समयको अन्त्यमा एकदमै तनावपूर्ण वातावरण बनेपछि थ्रीस्टार विजय धिमाललाई बाहिर निकाल्दै अनिललाई मैदान प्रवेश गराउन बाध्य भएको थियो । एक पहेंलो कार्ड पाएका विजयले त्यसको १० मिनेटको अन्तरमा अर्को तीन फल गरेका थिए ।
रेफ्री विकास महतले दोस्रो हाफमा मात्र हिमालयनका सुरेन थापा र  दिनेश कार्की तथा  थ्रीस्टारका विशन गौचन, विजय धिमाल र विक्रम लामालाई पहेलो कार्ड देखाउनुपरेको थियो ।

प्रतिक्रिया