थरीथरीका हिटलर

न्युयोर्क, १४ वैशाख  । सानो चुस्स जुँगा पालेको र दायाँ सिउँदो गरी स्वात्त कपाल कोर्ने हिटलरको तस्बिर विश्वभर प्रचलित छ । खल्बाट, जुँगा काटेको अथवा कपाल पालेको हिटलरको तस्बिर धेरैका लागि नौलो हुनसक्छ । यहाँ देखाइएका हिटलरका थरीथरीका तस्बिर वास्तविक भने होइनन्, अमेरिकी गुप्तचर संस्थाले बनाएको स्केच हुन् । सन् १९४४ मा दोस्रो विश्वयुद्ध समाप्त हुन लाग्दा अमेरिकी गुप्तचरले हिटलरका यस्ता स्केच बनाएका थिए ।
युद्धको पूर्वी मोर्चाबाट सोभियत संघले र पश्चिमी मोर्चाबाट अमेरिका तथा बेलायतले जर्मन सेनालाई राजधानी बर्लिनतर्फ धकेल्न थालेपछि हिटलरको राज बर्लिन सहरमा सीमित हुन पुगेको थियो । पराजयको सँघारमा पुगेका हिटलर भेष बदलेर बर्लिन सहरबाट भाग्न नपाऊन् भनेर अमेरिकी गुप्तचरले उनका थरीथरीका स्केच बनाएका थिए । अमेरिकाको तत्कालीन गुप्तचर संस्था ओएसएसले न्युयोर्क सहरका एड सेन्ज नाम गरेका कलाकारलाई स्केच बनाउन लगाएको थियो । नाजी जर्मनीविरुद्ध युद्धरत बेलायत, अमेरिका र  सोभियत संघका सेनाका कमान्डरमाझ यी स्केच वितरण गरिएका थिए ।
स्केच वितरण गरिएको एक वर्षपछि हिटलरले बर्लिनमै आत्महत्या गरेका थिए । बर्लिनबाट भाग्न आफ्ना सहयोगीले गरेको आग्रह अस्वीकार गर्दै हिटलरले एक सुरुङमा पत्नी इभा ब्राउनसँगै आत्महत्या गरेका थिए । हिटलरले आफूलाई गोली प्रहार गरेका थिए भने पत्नी ब्राउनले साइनाइड टोकेर आत्महत्या गरेकी थिइन् । ३० अप्रिल १९४५ मा उनले आत्महत्या गर्नुभन्दा दस दिनअघि नै सोभियत सेनाले बर्लिन सहर ध्वस्त गरी यसलाई वरिपरिबाट घेरा हालेको थियो । (एजेन्सी)

हिटलरको आत्मकथा नयाँ संस्करणमा

दोस्रो विश्वयुद्धताका र त्यसअघि जर्मनीमा ज्यादै लोकप्रिय हिटलरको आत्मकथा ‘मिन क्याम्फ’ (मेरो संघर्ष) को नयाँ संस्करण जर्मनीमा प्रकाशन हुने भएको छ । सन् २०१५ मा ‘मिन क्याम्फ’ को मुद्राधिकार समाप्त हुन लागेकाले त्यसअघि नै जर्मन राज्य बाभारियाले यसको जर्मन भाषाको संस्करण निकाल्न लागेको हो ।
जर्मनीमा हिटलरको आत्मकथामाथि प्रतिबन्ध लगाइएको छैन । तर, बाभारिया राज्यले किताबको मुद्राधिकार आफूमा सुरक्षित गरी किताबको प्रकाशन/वितरण रोक्दै आएको छ । सन् २०१५ मा हिटलरले आत्महत्या गरेको ७० वर्ष पुगेपछि मुद्राधिकार स्वत: खारेज हुनेछ । त्यसअघि नै बाभारियाले यसको जर्मन संस्करण निकाल्न लागेको हो ।
विद्यार्थीलाई लक्ष्य गरी किताब प्रकाशन गर्न लागिएको राज्य सरकारले जनाएको छ । यसमा हिटलर र उनको आत्मकथामाथि गरिएको आलोचनात्मक टिप्पणी पनि समावेश गरिने बताइएको छ । हिटलरले सन् १९२४ मा जेलमा रहँदा आत्मकथा लेखेका थिए । ‘कु’ गरी शक्ति हत्याउने प्रयास असफल भएपछि उनी जेलमा परेका थिए । आत्मकथामा उनको जीवनी, तात्कालिन समसामयिक राजनीतिमाथिको टिप्पणी, जर्मन नश्ललाई अब्बल प्रमाणित गर्न उनले राखेका तर्क र नाजीवादको सिद्धान्त समावेश छन् ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएयता सो किताब बजारमा उपलब्ध हुन छाडेको थियो । १९४५ अघि जर्मनीमा यसको एक करोड प्रति बिक्री भइसकेको थियो । सन् १९३३ मा हिटलर सत्तामा आएपछि हरेक नवदम्पतीलाई नाजी राज्यले उपहारस्वरुप ‘मिन क्याम्फ’ दिने गरेको थियो ।
बाभारिया राज्यका अर्थमन्त्री मार्कस सोइडरले भने, ‘यो किताबमा बेतुकका कुरा छन् भन्ने देखाउने हाम्रो इच्छा छ । किताबमा रहेको खतरनाक विचारले विश्वमा कत्रो विनाश ल्यायो भन्नेबारे हामीले प्रस्ट पार्नु छ ।’ सन् २०१५ मा मुद्राधिकार समाप्त भएपछि जोकसैले ‘मिन क्याम्फ’ प्रकाशन र वितरण गर्न सक्ने भएकाले त्यसअगावै आलोचनासहितको पुस्तक प्रकाशन गरी जर्मन जनतामाझ हिटलरलाई थप बदनाम गराउने उद्देश्यले किताब पुन: प्रकाशनको तयारी गरिएको आलोचकको भनाइ छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि सोभियत संघ र पश्चिमी जगत्ले जर्मनीको शैक्षिक प्रणाली र आमसञ्चारमाथि कब्जा जमाएका थिए । त्यसपछि हिटलरलाई सन्की र मनोरोगीका रुपमा चित्रण गराउँदै जर्मनीले भोगेको दुर्दशाका लागि उनैलाई जिम्मेवार ठहराउने काम भएको थियो । फलस्वरुप कुनै समय हिटलरको जयजयकार गर्ने जर्मनीका जनता अहिले हिटलरलाई घृणा गर्छन् ।

प्रतिक्रिया