अब हुम्ला पनि जोडियो राष्ट्रिय सडक सञ्जालमा

काठमाडौँ । विभिन्न सामान्य ज्ञानका पुस्तकदेखि लोकसेवा आयोगको परीक्षामा समेत बारम्बार सोधिने एउटा प्रश्न आइतबार (२२ वैशाख, २०८२) देखि रद्द भएको छ । ‘अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको नेपालको एक मात्रै जिल्ला सदरमुकाम कुन हो ?’ भन्दा हुम्लाको सिमकोट भनेर उत्तर दिइन्थ्यो ।

तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को चुवाखोलामा बेलिब्रिजको उद्घाटन गरेसँगै हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

भलै यस करिडोरमा अझ थुप्रै काम गर्न बाँकी नै छ । तर, कर्णाली प्रदेशकै विकट जिल्ला मानिने हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिँदा हुम्लाबासीले वर्षौँदेखि देखेको सपना पूरा भएको छ । योसँगै आइतबारदेखि देशका ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णाली राजमार्गको २०४२ सालमा सम्भाव्यता अध्ययन गरी २०४८ सालमा शिलान्यास गरिएको थियो ।

तर, पर्याप्त बजेटको अभाव, फितलो कार्यान्वयन अवस्था, राजनीतिक इच्छाशक्तिको कमीले गर्दा २०५७ देखि मात्र थोरै मात्रामा यस सडकखण्डका लागि बजेट दिइँदै आएको थियो । कर्णाली करिडोर निर्माण सुरु भएको करिब २६ वर्षपछि मात्र हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरअन्तर्गत खार्पुनाथ–५ चुवाखोलामा असार १० गते नेपाली सेनाले बेलिब्रिज निर्माण सम्पन्न गरेको थियो । उक्त बेलिब्रिजलाई हुम्लामा सडक पहुँचका लागि लाइफलाइन मानिन्छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालसँग जोड्नेछ ।

प्रतिक्रिया