मत-विमत

संघीय एकाइको नामकरण

सौर्य अनलाइन २०६९ वैशाख १४ गते ४:४६ मा प्रकाशित

राजनीतिक दलहरूका बीचमा संघीय एकाइको संख्याका बारेमा लगभग सात वा आठ प्रदेश बनाउने भन्ने कुराको टुंगो लागेको हल्ला बाहिर आएको छ । यदि यो सत्य हो भने अब यी प्रदेशको नाम के राख्ने भन्ने विषयमा दलका नेता र सरोकारवालाका बीचमा चिन्ता र चासो बढेको हुनुपर्छ । यसमा कसैको मत जातीय आधारमा नामकरण गरिनुपर्छ भन्ने रहेको छ । यसमा व्यापक बहस र पैरवी पनि भइरहेका छन् । मागपत्र जारी गर्ने क्रम पनि तीव्र रूपमा अगाडि बढेको छ भने कसैले नदी वा ऐतिहासिकता र भूगोल आदिबाट प्रदेशको नाम राखिनुपर्छ भन्ने तर्क पनि अगाडि सारेका छन् । नेपालमा संघीयताको बहसमा प्रदेशको नामकै बारेमा झगडा भयो भने योभन्दा कमजोरी अर्को के हुन सक्ला ? विश्वमा संघीय शासन प्रणाली अपनाएका मुलुकको संघीय एकाइको नामकरणलाई अलिकति हेर्ने हो भने यो नामकरणमा विविधता छ । स्विट्जरल्यान्डमा संघीय एकाइलाई क्यान्टोन भन्छन् भने सेन्ट किट्स र नेभिजमा आइजल्यान्ड, जर्मनी र अष्ट्रियाले ल्यान्डर भन्छन् । त्यस्तै बोस्निया हर्जगोभिनाको संघीय एकाइलाई इन्टिटिज भनिन्छ भने अमेरिकाको संघीय एकाइलाई राज्य भनिन्छ । भारतको संघीय एकाइलाई प्रदेश भनेर बुझिन्छ । त्यसैले संघीय एकाइको नामकरणका सम्बन्धमा विश्वका आ–आफ्नै मोडेल छन् र फरकफरक नामकरण छन् ।
नेपालको संघीय एकाइको निर्माण र नामकरणबारे पनि व्यापक बहस, छलफल र मतान्तर छन् । पहिचानको विषयलाई लिएर कसैले संघीय एकाइको नामकरण जातका आधारमा हुनुपर्ने तर्क गर्छन् भने कसैले भाषा, हिमाल वा नदीको नामका आधारमा । यसमा पनि हाम्रा संघीयताका सरोकारवालाबीच व्यापक मतान्तर देखिन्छ । उदारणका लागि कुनै संघीय एकाइको नाममा लिम्बुवान हुनुपर्छ वा कंचनजंघा, किरात वा सगरमाथा, नेवा वा राजधानी प्रदेश आदि विषयमा मतान्तर देखिन्छ । यसले हाम्रो संघीय शासन प्रणालीलाई अलि अप्ठ्यारो र बोझिलो बनाएको छ । यसलाई सरोकारवालाले जित–हारको विषय बनाउन खोजेको र संघीयताको विषयलाई सामान्य नागरिकबीचमा क्लिष्ट बनाउन खोजिएको छ । राम्रो नाम हँुदैमा त्यो अनुसारको काम हुन्छ भन्ने होइन । मानिसको नाम जति राम्रो भयो त्यसैअनुरूप काम हुन्छ भन्ने छैन । मुख्य कुरा नामले नभई कामले समाजमा उसको छवि स्थापित हुने हो । ठाउँको नामकरण लिएर हेर्दा शान्तपुर नामकरण गर्नेबित्तिकै त्यहाँ शान्ति हुने पनि होइन ।  नर्कपुर नामकरण भएको ठाउँमा नर्कैनर्क नभएर स्वर्ग भएका कतिपय उदाहरण हामीसामु छन् । देशमा पहिले रहेका अञ्चल, जिल्ला, नगर र गाउँको नामकरण गर्ने विषयमा विवाद आएन । अञ्चलको नामकरण प्राय: नदी र हिमालको नामबाट गरियो त्यहाँ जातको कुरा आएन । जिल्ला, नगर र गाउँको पनि पहिचानलाई आधार बनाएर जात, भूगोल, आदिबाट राखियो । त्यतिबेला पनि विवाद आएन । विद्यालय, मठ, मन्दिरको विषयमा पनि इतिहासमा त्यति ठूलो विवाद आएन तर अहिले हामी संघीय शासन प्रणालीको लगभग दुई दर्जन संघीय एकाइको नामकरण गर्न किन यत्रो रडाको मच्चाइरहेका छौँ ? एकलल्ट आफैसँग प्रश्न सोध्न जरुरी छ ।
नेपालको संघीय एकाइको निर्माणमा लिम्बूको बाहुल्यता भएकाले त्यो क्षेत्रको संघीय एकाइको नामकरण लिम्बूवान हुनुपर्ने, राईको बाहुल्यता भएकाले किरात हुनुपर्ने, नेवारको बाहुल्यता भएकाले नेवा हुनेपर्ने, तामाङको बाहुल्यता भएकाले ताम्सालिङ हुनुपर्ने तर्क आएका छन् । यसमा त्यो क्षेत्रमा बसोबास गर्ने जातिका मानिस त खुसी होलान् तर अरू जातिका मानिस आपत्ति जनाइरहेका छन् । नामकरणको विषयमा नै संघीयताका पक्षधरबीच यत्रो विवाद हुनुमा विगतमा संघीयताको भावना र मर्मलाई नबुझी यसलाई अतिवादी कोणबाट व्याख्या गरिएकाले पनि यस्तो भएको हुन सक्छ । संघीयतामा कसैलाई राज्य दिइँदैन, यो शासन प्रणालीमा त केन्द्रमा रहेको अधिकार संवैधानिकरूपमा तल्ला संरचनासम्म अधिकार हस्तान्तरण गरिन्छ तर हाम्रा राजनीतिक दलहरूले हिजो गाउँघरमा जातिपिच्छे जातिको भोट पट्याउन राज्य बाँड्दै हिँडे, जसले जातीय बहुमतमा रहेकालाई राज्य पाउने र त्यसको हर्ताकर्ता हुने मीठो सपना जन्म्यो र उनीहरूले अरू जातका मानिसलाई त्यही अनुसार त्रास बाँड्दै गए । जुन कारणले संघीय एकाइको नामकरणमा यत्रो ठूलो झमेला र विवाद सिर्जना भयो । यहाँ सबैले बुझ्नुपर्ने कुरा संघीय एकाइ भनेको कुनै जातिविशेषको मात्रै राज्य होइन । यो त केन्द्रमा रहेको अधिकारलाई तल्लो तहसम्म पुर्‍याउन निर्माण गरिने एउटा संरचना मात्र हो । यसलाई जे नाम दिए पनि केही फरक पर्दैन । त्यसैले जातलाई आधार बनाएर राजनीति गर्नेहरूले पनि संघीय एकाइको नामकरण जातका आधारमा हुनेबित्तिकै जातीय राज्य पाइयो, यहाँ हाम्रो हुकुम, शासन चल्नुपर्छ भन्ने कुरा गर्नु मूर्खता हो । अरू जातका मानिसले पनि जातीय आधारमा नामकरण भएका राज्यमा हाम्रो कुनै हैसियत हुँदैन भनेर सोच्नु अर्को मूर्खता हो । संघीयतामा नामकरणको विषय प्रमुख कुरा होइन, अधिकारको बाँडफाँडको विषय र त्यसमा सबै मानिसको सहभागिता र स्वामित्वको प्रश्न प्रमुख कुरा हो । त्यसैले संविधान निर्माणको यो अन्तिम घडीमा नाममा झगडा होइन कि काममा झगडा हुनुपर्छ ।
अब यहाँ नामका बारेमा अलिकति व्याख्या आवश्यक छ । मानौँ सगरमाथा क्षेत्रमा पर्ने वा कोसी क्षेत्रमा पर्ने संघीय एकाइको नाम किन किरात नै राख्नुपर्ने ? किरात एउटा जाति वा संस्कृति होला तर त्यो क्षेत्रमा बस्ने सबै मानिसले किरात संस्कृति नै मान्छन् भन्ने छैन । यदि यस्तो नामकरण भयो भने यसले त्यहाँ जातिबीचमा समस्या ल्याउन पनि सक्छ । त्यसैले नामका कारण समस्या आउने संघीयताले जनताका बीचमा एकखाले तनाब सिर्जना पनि गर्न सक्छ । त्यसैले यस्ता विवादित विषयबाट सरोकारवाला बच्न सक्नुपर्छ । सगरमाथा वा कोसी त एक जातिको मात्र होइन, सबै जातिको साझा गौरवको विषय हो, त्यसैले संघीय एकाइको नामकरण पनि सबै जातिले गौरव बोध गर्ने नामबाट गरियो भने त्यो संघीय एकाइमा सबै जनताको आपनत्व सिर्जना हुन सक्छ । यो विषयमा सरोकारवालाको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय