कलिला चेपाङ आमाहरु

हेटौंडा, १४  वैशाख । कानुनत: केटीको बिहे गर्न पाउने उमेर १८ वर्ष हो । तर, १७ वर्ष मात्र पुगेकी आइतमाया चेपाङ बिहे गरेर पनि दुई सन्तानकी आमा भइसकिन् । १५ वर्षको उमेरमा कक्षा तीनमा पढ्दापढ्दै गाउँकै केटासँग उनको बिहे भएको थियो ।
आइतमाया प्रतिनिधि पात्र मात्र हुन् । आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदायमा कलिलै उमेरमा छोरीको बिहे गरिदिने प्रचलन अहिले पनि कायम छ । अधिकांश चेपाङ बालिका किशोरी अवस्थामै आमा बनिसकेका हुन्छन् ।
‘आमाले सानैमा विवाह गरिदिइन्,’ मकवानपुर काँकडा सिलिंगेकी २० वर्षीया निरमाया चेपाङ भन्छिन्, ‘विवाह भन्ने थाहै थिएन, आमाले भनेपछि मानेँ ।’ आठ वर्षअघि नै बिहे गरेकी निरमाया तीन सन्तानकी आमा हुन् ।
सिलिंगेकै कान्छीमाया चेपाङको १२ वर्षको उमेरमै विवाह भएको हो । अहिले २५ वर्ष लागेकी कान्छीमायाले चार सन्तान जन्माइसकेकी छन् । उनको हाउभाउ भने ४० वर्षकी महिलाको जस्तो देखिन्छ ।
मकवानपुरमा २५ हजारको हाराहारीमा रहेका चेपाङ समुदायमा समस्या बन्दै आएको छ, बालविवाह र कम उमेरमै सन्तान जन्माउने प्रचलन । कलिलै उमेरमा धेरै सन्तान जन्माउनाले चेपाङ महिलामा आङ खस्ने र  महिनावारी गडबड हुने समस्या व्यापक देखिन्छ । स्वास्थ्यकर्मी तोयानाथ घिमिरे भन्छन्, ‘कलिलै उमेरमा सन्तान जन्माउने र गह्रौँ भारी बोक्ने गर्नाले अधिकांश चेपाङ महिलामा आङ खस्ने रोग देखिएको छ ।’
संविधानसभाका सदस्य गोविन्दराम चेपाङले अधिकारवादी संघ–संस्थाको चेतनामूलक कार्यक्रमका बाबजुद आफ्नो समुदायमा सन्तान जन्माउने क्रम नघटेको बताए । ‘सन्तान बढी जन्माएकैले चेपाङ समुदायका महिलाको स्वास्थ्य नाजुक छ । उनीहरूले राम्रो उपचार पाएका छैनन्,’ उनले भने ।
चेपाङ परिवारमा सामान्यतया पाँचभन्दा कम बच्चा बिरलै पाइन्छन् । एउटा बच्चा अकालमा मरे अर्को बच्चा जन्माउन हतार गर्ने र कलिलै उमेरमा छोरीको विवाह गर्ने संस्कार हटाउन नसकिएको नेपाल चेपाङ संघ मकवानपुरका सचिव महेश चेपाङ बताउँछन् । उनी भन्छन्, ‘कलिलैमा विवाह गरेर धेरै बच्चा जन्माउने चेपाङ युवतीहरू आङ खस्ने रोगका सिकार भइरहेका छन् । अनि पतिले अर्को विवाह गरेर झन् सन्तान बढाइरहेका छन् ।’
पश्चिम मकवानपुरका १४ गाविसमा चेपाङको बसोबास छ । शैक्षिक दृष्टिले चेपाङ समुदाय शिक्षित हुँदै गए पनि आर्थिक रूपमा कमजोर भएका छन् । उनीहरूको क्षेत्रमा परिवार नियोजन सेवा नै पुग्न सकेको छैन ।

प्रतिक्रिया