अब के बाँकी रह्यो र ?

गत साल ८ माघमा जनमुक्ति सेनालाई सरकारको मातहतमा लैजाने निर्णय लिएपछि मैले एउटा साप्ताहिकमा लेख लेखेँ ‘माघ ८ कालो दिन’ । मलाई जनमुक्ति सेनाका केही साथीहरूले त्यस लेखको आसय नभएको गुनासो गरेका थिए । माओवादीका एकजना पोलिटब्युरो सदस्यले त थर्काएका पनि थिए । गत २८ चैतमा बाबुराम–प्रचण्डको निर्देशनमा जनमुक्ति सेनाका क्याम्पहरूमाथि नेपाली सेनाले नियन्त्रण जमायो । त्यस रात त्यसैगरी दुई दर्जनभन्दा बढी जनमुक्ति सेनाका साथीहरूले फोन गरेर मेरो गत सालको लेख स्मरण गराए । फोन गर्ने सबै साथीको आसय थियो, त्यो लेखलाई समयमा नै बुझ्न नसकेकाले जनमुक्ति सेनाको दु:खद् अन्त्य हुने भयो भन्ने । हुन पनि नेपालका कुनै पनि राजनीतिक पार्टीका जनताले प्रचण्ड–बाबुरामहरूले यति ठूलो कुकृत्य गर्छन् भन्ने सोचेकासम्म पनि थिएनन् । २८ गते जनमुक्ति सेनामाथिको सैन्य ‘कु’ सँगै यहाँका संसदीय पार्टी, माओवादीइतरका मान्छेले सुरुका दिनहरूमा खुसीयाली मनाए तर जतिजति दिनहरू बित्दै गए त्यतित्यति उनीहरूको दिमागमा प्रचण्ड–बाबुरामहरूले किन यस्तो गर्न सके भनी निधार खुम्च्याउन थालेका छन् । अझ पछिल्लो क्रममा जनमुक्ति सेनाको ठूलो संख्याले स्वेच्छिक अवकाश रोजेपछि उनीहरूको निद हराम हुन थालेको छ । बढी सोच्न थालेका छन् । यो अनपेक्षित कार्यका पछाडि रहस्य देख्न थालेका छन् । केही बुजु्रकहरूले प्रचण्ड–बाबुरामको कार्यप्रति षड्यन्त्रको गन्ध सुँघ्ने कोसिस गरेका छन् ।
माओवादीले जनमुक्ति सेनाको निर्माण दुईवटा उद्देश्यसहित गरेको थियो, राष्ट्रिय मुक्तिका लागि र वर्गीय मुक्तिका लागि । अहिले प्रचण्ड–बाबुरामको जनमुक्ति सेनामाथिको ‘कु’ गराइले उनीहरूद्वारा राष्ट्रघात, जनघात र वर्गघात भएको पुष्टि भएको छ । प्रश्न उठ्छ, यिनीहरूले यस्तो किन गरे त ? यी दुई मनुष्य जनयुद्धकालमा सबैभन्दा बढी समय भारत बसे । उनीहरू आफैँले पनि यो कुरालाई स्वीकार गरेका छन् । देशमा जनयुद्ध भइराख्दा, संकटकाल लाग्दा, सेना परिचालन हुँदा, रेड कर्नर नोटिस जारी हुँदा र सामान्यभन्दा सामान्य कार्यकर्ता भारतमा त्यहाँको सुरक्षा निकायले गिरफ्तार गर्दा पनि उनीहरू सकुशल कसरी रहन सके ? यसका पछाडिको कारण खोजेपछि उनीहरूले किन जनयुद्ध अन्त्यको घोषणा गरे ? जनयुद्धका उपलब्धिलाई जसरी भए पनि नामेट गर्नतिर किन लागे भन्ने कुरा स्पष्टसँग बुझ्न सकिन्छ ।
भारतको पहिलो चाहना नेपालको जनमुक्ति सेनाको अनिवार्य विघटन हो । यसका दुई कारण छन् । पहिलो नयाँ जनवादी क्रान्ति सफल हुनु भनेको संसदीय व्यवस्थाको विघटन हो । संसदीय व्यवस्था नरहेमा नेपालमाथिको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक दबदबा रहन सक्दैन । दोस्रो, भारतमा माओवादी जनयुद्धको विकास तीव्र भइराखेको छ । भारतले माओवादी जनयुद्धलाई मुख्य सुरक्षा समस्याका रूपमा लिएको छ । भारतीय माओवादीमाथि मनोवैज्ञानिक असर पार्नका लागि पनि यहाँको जनमुक्ति सेनाको विघटन अनिवार्य थियो । यी दुईवटा मुख्य कुरालाई आधार मानेर नेपाली जनयुद्धलाई जसरी पनि निस्तेज पार्नु थियो । भारतले जनयुद्धको मुख्य नायकलाई नै उपयोग गर्‍यो । यसको पुष्टिसमेत प्रचण्ड आफैँले गत १७ अप्रिलको द हिन्दुको अन्तर्वार्तामा खुलासा गरेका छन् । साथै नेपालको विशिष्ठ घडीहरूमा उनको अन्तर्वार्ता द हिन्दुमा नै आउने गर्दछ । पार्टीभित्र वर्ग उत्थान भयो भनेर बेला बखत दस्तावेजहरूमा लेख्ने गरे पनि प्रचण्डको वर्ग उत्थान युद्धकालमा नै भएको थियो ।
‘शान्तिप्रक्रिया’पछि सबै जनताले छर्लंग नै देखे । जनयुद्धका सहिद, बेपत्ता, घाइतेहरूको रगत, जनमुक्ति सेना, नेता/कार्यकर्ताको पसिनामाथि उनले गीर खेलेका छन् । अकुत सम्पत्ति जम्मा गरेको कुरा त सार्वजनिक भइसकेको छ । त्यो सम्पत्ति जोगाइराख्न फेरि क्रान्ति गर्न नपरोस् ऐसआरामको जिन्दगी बिताइराख्न पाइयोस् भन्नाका खातिर उनले जनमुक्ति सेनाको विघटन गराए । जब कुनै बेला क्रान्तिको नेतृत्व गरेको मान्छे संशोधनवादमा पतन हुन्छ, उसले क्रान्ति त गर्दैन गर्दैन कसैले क्रान्ति नगरोस् भन्ने षड्यन्त्रमा पनि लाग्छ । क्रान्तिको तीनवटै जादूगरी हतियारलाई नष्ट पार्नतिर लाग्छ । पार्टीलाई उनले विचारमा भुत्ते बनाएर सकिदिए । संयुक्त मोर्चा गलत शक्तिसँग बनाएर संसदीय परिपाटीमा प्रवेश गरे । जनताको सेनालाई सक्नुपथ्र्यो । त्यो फेरि हिजोको परिघटनामा भएर पुग्दैनथ्यो । उनी जनमुक्ति सेनालाई इतिहासमा सबैभन्दा अपहेलित बनाएर विघटन गर्न चाहन्थे । किनभने भोलि फेरि कुनै पनि युवालाई जनमुक्ति सेना बन्ने इच्छा नजगाओस् । त्यसैले त २८ चैतमा अचानक नेपाली सेनालाई जनमुक्ति सेनाका क्यान्टोनमेन्ट कब्जा गर्न आदेश दिइयो । नेपालमा राष्ट्रिय मुक्ति आन्दोलनहरू भए पनि ती सफल नहुनाका कारणहरू जनताको आफ्नै सेना नभएकाले हो भन्ने निष्कर्ष निकाल्दा अतियुक्ति हुँदैन । नेपाली जनताले पहिलोपटक ठूलो संख्यामा आधुनिक सेना निर्माण गरेका थिए । देशीय सामन्तवादसँग लड्दै गर्दा वैदेशिक प्रतिक्रियावादसँग पनि लड्नु पर्ने हुन्छ । यसको मुख्य कडीका रूपमा जनमुक्ति सेनालाई लिइएको थियो ।
जनयुद्धलगायत नेपालमा भएका विभिन्न आन्दोलनले नेपाली जनतामा राष्ट्रिय सचेतना उच्च भइराखेको थियो । त्यसलाई भुत्ते बनाउँदै विदेशी प्रभुसामु लम्पसार पर्न सजिलो होस् भन्नाका लागि जनमुक्ति सेनाको विघटन गरियो । प्रचण्डहरू अहिले बेतुकको सेना समायोजनको हौवा पिटिराखेका छन् । यो उनीहरूको जनताका आँखामा छारो हाल्ने कामबाहेक अरू केही होइन । भारतले प्रतिक्रिया दिइसक्यो कि १२ बुँदे समझदारीको मुख्य लक्ष भनेकै गणतन्त्रको स्थापना र जसरी हुन्छ माओवादीलाई नि:शस्त्र गर्नु हो । त्यसैले प्रचण्ड–बाबुरामहरू भारतसामु लम्पसार परेका छन्, जसरी हुन्छ कुर्सीमा टिकिराख्न पाउँ, ऐसआराम गरिराख्न पाउँ भन्ने धुनमा छन् । जनमुक्ति सेना नेपाली सेनाको हातमा दिँदै गर्दा अब देशमा शान्ति कायम हुन्छ भन्ने सोचिराखेका छन् । अब जनताको संविधान बन्छ भन्दै हिँडेर दिउँसै रात पारिराखेका छन् । उनीहरूले बुझ्नुपर्छ कि अब देशमा शान्ति सम्भव छैन, जनताको संविधान पनि बन्दैन । बरु उनीहरू नेपाली कम्युनिस्ट आन्दोलनको अहिलेसम्मका सबैभन्दा ठूला गद्दारमा दर्ज भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा गद्दार भनी चिनिएका केशरजंग रायमाझीहरूलाई उनीहरूले पछारेका छन् । दसौँ हजार सहिद, हजारौँ बेपत्ता, हजारौँ घाइते, नेता कार्यकर्ता, जनताको सपना मार्नु, त्याग, समर्पण र बलिदानीको धरोहरलाई भत्काउनु यही होइन गद्दारी ?
(लेखक अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुन् ।)

प्रतिक्रिया