व्यवसायी बनायो गोठसुधारले

जिबजिबे (रसुवा), ११ वैशाख । अढाई वर्ष अघिसम्म धैबुङ गाविसको जिबजिबे गाउँबासीलाई खेती–किसानीले जीविका चलाउन पनि मुस्किल पथ्र्यो । सिँचाइका लागि पानी नहुँदा तरकारीखेती नाम मात्रको भएको थियो । बिहान–बेलुका खान पनि नपुग्ने त्यसबेलाको तरकारी उब्जनी कुनै दिन बढेर बिक्री गर्नेसम्म पुग्ला भनेर कसैले पनि सोचेका थिएनन् ।
तर, डब्लुडब्लुएफले गाउँमा गोठसुधार कार्यक्रम ल्याएपछि गाउँबासीको दिनचर्या फेरिएको छ । हिजो आºनो भान्साको जोहो मात्रै गर्ने किसान अहिले व्यवसायी बनेका छन् । स्थानीयवासीका अनुसार डब्लुडब्लुएफले आर्थिक सहयोग गरेपछि उनीहरूले गोठमा गाईवस्तुको गोबर र पिसाब छुट्टाछुट्टै संकलन गर्न थाले । पिसाबविनाको गोबर उर्वर मल बन्यो भने पिसाबमा झारपात र जडीबुटी मिसाएपछि त्यो किटनासक विषादी बन्यो ।
गोठसुधारबाट विनालगानी मल,  विषादी र प्लास्टिक पोखरीबाट सिँचाइ गर्न पानी संकलन भएपछि अहिले तरकारी खेतीबाट मनग्ये आम्दानी हुन थालेको स्थानीय कृषक टिकाप्रसाद देवकोटाले बताए । ‘पहिला छाक टार्ने तरकारी मात्रै उब्जनी हुन्थ्यो, गोठसुधार भएपछि अहिले एकै सिजनमा ८० हजार रुपियाँ बराबरको तरकारी बेच्दै आएको छु,’ उनले भने, ‘गोठसुधारले सामान्य कृषकलाई व्यवसायी बनायो ।’ घरका तीनवटा प्लास्टिक टनेलमा गोलभेँडा, मुला, काउलीलगायत सिजनेबल तरकारीको बाह्रैमास राम्रो उत्पादन भइरहेको उनी बताउँछन् ।
डब्लुडब्लुएफले दुई वर्षअघि प्लास्टिक पोखरी निर्माण गर्न सात हजार रुपियाँ बराबरको प्लास्टिक र सात हजार नगद गाउँका ६ परिवारलाई उपलब्ध गराएको थियो । सिँचाइ नहुँदा उब्जनी गर्न नसकेका स्थानीय बासिन्दाले प्लास्टिक पोखरी बनाएर भाँडा माझेको, नुहाएको र प्रयोग भइसकेको पानी संकलन गरिरहेका छन् । वर्षको दुई सिजनमा तरकारी खेतीबाट डेढ लाख रुपियाँबराबर आम्दानी गरिरहेको र बर्सेनि तरकारीखेती व्यावसायिक रूपमै फस्टाउँदै गएको स्थानीयले बताए ।
करिब दुई सय घर–परिवार रहेको धैबुङ गाविस–९ को जिबजिबेमा पछि चारवटा घरमा समेत गरेर १० घरमा गोठसुधार भइसकेको स्थानीय बासिन्दाले बताए । नजिकैको कालिकास्थान, धुन्चे हुँदै काठमाडौंसम्म आइपुग्ने जिबजिबेको तरकारीमा गोठसुधारसँगै रासायनिक विषादीको प्रयोग घटेर गएका अर्का स्थानीयवासी अर्जुन न्यौपानेले बताए ।
‘पहिला खेती भएन भन्दै रासायनिक विषादी खनाउँदै गर्दा माटो बिग्रिएको थियो,’ उनले सौर्यसँग भने, ‘गोठसुधार भएपछि मल र विषादी गोठमै तयार हुन्छ, रासायनिक मल प्रयोग गर्नुपरेको छैन ।’

प्रतिक्रिया