चीन–रुस नौसैनिक अभ्यास सुरु

बेइजिङ, १० वैशाख । चीन र रुसले पहिलोपटक संयुक्त नौसैनिक अभ्यास गरेका छन् । पीत सागरमा आइतबारबाट सुरु भएको नौसैनिक अभ्यास ६ दिनसम्म चल्नेछ ।
संयुक्त नौसैनिक तथा हवाई प्रतिरक्षा प्रणाली मजबुत गर्न, पनडुब्बीविनाशक तौरतरिकासम्बन्धी ज्ञान हासिल गर्न र अपहरणमा परेका पानीजाहाजको उद्धार गर्ने कला सिक्न संयुक्त अभ्यास गरिएको चिनियाँ अधिकारीले जनाएका छन् । चीनको पूर्वीतटसँग जोडिएको पीत सागरमा नौसैनिक अभ्यास गरिएको सिन्ह्वाले जनाएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रसँग मिलेर अमेरिकाले ‘साउथ चाइना सी’मा नौसैनिक अभ्यास गरिरहेका बेला चीनले रुससँग मिलेर अभ्यास गरेको हो । ‘साउथ चाइना सी’का कतिपय क्षेत्रको स्वामत्वलाई लिएर चीन, भियतनाम, फिलिपिन्सलगायत दक्षिणपूर्वी एसियाली मुलुकबीच विवाद चुलिएको छ । अहिले ‘साउथ चाइना सी’मा अमेरिका र फिलिपिन्सबीच संयुक्त नौसेन्य अभ्यास जारी छ । २७ अप्रिलसम्म जारी रहने अभ्यासमा दुई देशका करिब सात हजार सैनिक सहभागी छन् ।
क्षेत्रीय शान्ति र स्थिरताका लागि संयुक्त अभ्यास गरिएको दाबी चीनले गरेको छ । तर, विश्लेषकहरूले भने चीनसँग वैरभाव राख्ने दक्षिणपूर्वी एसियाली मुलुकसँग अमेरिकाको बढ्दो सैन्य निकटताको प्रतिरोध गर्न चीनले रुससँग संयुक्त अभ्यास गरेको बताएका छन् । चार हजारभन्दा बढी चिनियाँ सैनिकले भाग लिने सैन्य अभ्यासमा चीनका १६ वटा पोत परिचालन गरिनेछन् । यसमा पाँचवटा क्षेप्यास्त्रविनाशक पोत, पाँचवटै क्षेप्यास्त्र पोत, चारवटा क्षेप्यास्त्र डुंगा आदि रहेको बताइएको छ । अभ्यासमा १३ वटा विमान, पाँचवटा जाहाजी तख्तासहितका हेलिकोप्टरसमेत तैनाथ गरिने सिन्ह्वाले जनाएको छ । रुसले भने चारवटा युद्धपोत तैनाथ गर्नेछ । (एजेन्सी)

प्रतिक्रिया