पत्रकारिताबाट रंगीन पर्दामा

पोखरा, ६ वैशाख । कलाकारिताको रंगीन दुनियाँ छिर्ने रहर थुप्रैलाई हुन्छ । तर, सबैलाई आवश्यक जिउडाल अनि प्रतिभाले साथ दिन्छ नै भन्ने छैन । पोखरेली पत्रकार रेम रसाइलीलाई भने यी सबै कुराले साथ दिएका छन् । त्यसैले त उनी अहिले कलाकारितामा आफ्नो पहिचान बनाउनतिर लागेका छन् । बाल्यकालदेखि नै चलचित्र, भिडियो र म्युजिकको दुनियाँमा जम्न चाहने सपना बोकेका उनी अहिले यो क्षेत्रमा व्यस्त हुँदै छन् ।
रंग पत्रकारितामा कलम चलाइरहेकाले रसाइलीले रंगीन दुनियाँलाई नजिकबाट जान्ने मौका पाए । यसै क्षेत्रका मानिसहरूसँग उनको उठबस हुन थाल्यो । सानैदेखि ‘हिरो’ बन्ने र देश विदेशमा चिनिने इच्छा पूरा गराउन उनलाई यसै क्षेत्रसँग विस्तार गरेको सम्बन्धले सहयोग पुर्‍यायो ।
नेत्र गुरुङले निर्देशन गरेको म्युजिक भिडियो तिमी नै तिमी मेरो मान्छेमा गरेको मोडलिङले अहिले उनी चर्चामा छन् । यो गीत गायिका रूपा विष्टले गाएकी हुन् । प्रकाश भट्टले निर्देशन गरेको बतासै चल्यो सिरी है सिरी’ बोलको गीत उनले मोडलिङ गरेको पहिलो म्युजिक भिडियो हो । त्यस लगत्तै गायक नरजङ गुरुङको पीडा मात्रै आफ्नो हो कि बोलको गीतमा पनि उनले मोडलिङ गर्न भ्याइसके ।
‘आफूले साचेको सपना पूरा भएको देखेर खुसी लागेको छ,’ रसाइली भन्छन्, ‘मेरो मुख्य पेसा पत्रकारिताले पनि मलाई यहाँसम्म ल्याउन सहयोग पुर्‍यायो ।’ रसाइलीका अनुसार केही समयपछि उनलाई चलचित्रमा पनि देख्न पाइनेछ ।

प्रतिक्रिया