धानको न्यूनतम मूल्य तोक्न माग

झापा, ४ वैशाख । किसानले धानको उत्पादन लागतभन्दा बजारमूल्य न्यून भएको भन्दै न्यूनतम मूल्य तोक्न सरकारसँग माग गरेका छन् । सरकारले न्यूनतम मूल्य नतोक्दा ठूला व्यवसायीको मात्रै एकाधिकार बढेको जनाउँदै किसानले धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार दुई सय रुपियाँ तोक्न मागगरेका हुन् ।  झापामा यो  वर्ष धानको उत्पादन बढे पनि उत्पादनअनुरूप मूल्य नपाउँदा किसानले धान बेच्न पाएका छैनन् । गौरादहका कृषक दीपक काफ्लेले लागतअनुसारको मूल्य नभएका कारण लामो समयसम्म धान बेच्न नपाएको बताए । उनले मजदुरको ज्याला, उत्पादनलागत सबै बढेको तर धानको मूल्य उस्तै रहेको दुःखेसो गरे । यो वर्ष जिल्लामा तीन लाख २० हजार पाँच सय ५० मेटि्रक टन धान उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार यो वर्ष झापामा ९८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । कार्यालयका प्राविधिक सहायक सालिकराम भट्टराईका अनुसार झापामा धानउत्पादन क्षमता तीन दशमलव ६५ मेटि्रक टन प्रतिहेक्टर रहेको छ ।  समयमा भएको वषर्ा, उन्नत जातको बिउ प्रयोग आदिका कारण धानउत्पादन बढेको कार्यालयको भनाइ छ । जिल्लामा डल्ले, आउमन्सुली, मन्सुली, राधाबारलगायतका जातका धान लगाइँदै आइएको छ ।
कुल ९९ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ९८ हजार हेक्टरमा यो वर्ष किसानले धान रोपाईं गरेका थिए । समयमा रासायनिक मल, सिँचाइको सुविधा आदि नपाए पनि किसानको लगाव र परिश्रमले धानउत्पादन दर बढेको कृषक बाताउँछन् । तर पनि किसानले भने उत्पादित धानको उचित मूल्य पाउन सकेका छैनन् ।
चामल उत्पादन गर्दै आएका झापाका मुख्य बजार दमक, गौरीगन्ज, गौरादह, धाइजन, बिर्तामोडलगायतका ठाउँमा रहेका मिलले बजारमा चामलको खपत नभएको भन्दै धान किन्न आनाकानी गर्नेगरेका कारण किसान मर्कामा परेका हुन् । झापा कोरोबारी-१ स्थित एकता कृषक समूहका अगुवा कृषक रघुनाथ निरौलाले अघिल्लो वर्ष सात सय रुपियाँ प्रतिमनका दरमा धान बिक्री भएकामा यो वर्ष पाँच सय रुपियाँको हाराहारीमा मात्रै धान बेच्न कृषक बाध्य भएको गुनासो गरे । महारानी झोडा गाविसका पूर्वअध्यक्षसमेत रहेका साना किसान कृषि सहकारी संस्था महारानीझोडाका सल्लाहकार संयोजक देवीप्रसाद काफ्लेले कृषकहरूले धानखेतीमा गरेको लगानी उठाउन मुस्किल भइरहेको बताए ।
उनले कृषिक्षेत्रको बढ्दो समस्याका बाबजुद राष्ट्रिय अर्थतन्त्रको विकासमा पुर्‍याइरहेको योगदानको सरकारले उचित सम्बोधन गर्न आवश्यक रहेकामा जोड दिए । ‘कृषि मजदुर, रासायनिक मल, उन्नत जातका बिउ, सिँचाइको अभावजस्ता समस्याका बीच पनि कृषकहरू यो पेसामा बाध्य भएर लागिरहेका छन्,’ उनले भने । ‘उनीहरूलाई प्रोत्साहन गर्ने नीति सरकारबाट अवलम्बन हुन आवश्यक छ,’ काफ्लेले भने । चामल उत्पादकले धानको उचित मूल्य दिन आनाकानी गरे पनि बजारमा उपलब्ध चामलको मूल्य भने घटेको छैन । अखिल नेपाल किसान महासंघका स्थायी समिति सदस्य मनकुमार गौतमले राष्ट्रिय किसान सञ्जालले धानको न्यूनतम मूल्य तोक्न र कृषिक्षेत्रका अन्य समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको बताए । जिल्लाका मुख्य चामल उद्योगका सञ्चालकले भने भारतबाट चामल आउने क्रम नरोकिएकाले नेपाली किसानले उत्पादन गरेको धानले उचित मूल्य नपाएको बताएका छन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालले कुनै न कुनै माध्यमबाट भारतबाट चामल आउने क्रम नरोकिएको बताए ।  ‘सरकारी अनुदानमा भारतमा उत्पादित चामल नेपालको भन्दा सस्तो हुन्छ । सस्तो भएका कारण भारतबाट धान आउन रोकिएको छैन,’ उनले भने ।

प्रतिक्रिया