सहकारीमा महिला सहभागिता बढ्दो

काठमाडौं, ४ वैशाख । सहकारी संस्थामा महिला सहभागिता बढ्दै गएको छ । सधैं घरयासी काममा मात्र सीमित हुने महिलाहरू यतिखेर सहकारी संस्था स्थापना गरी आर्थिक समृद्धितर्फ लागेका हुन् ।
मुलुकभर हाल दुई हजार ६ सयभन्दा बढी सहकारीहरू महिलाले सञ्चालन गरेको छन् । ती सहकारी संस्थामामा झाडु लगाउनेदेखि नेतृत्वतहमा महिला नै छन् । उनीहरूले सबैभन्दा धेरै बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका छन् । त्यसपछि बहुउद्देश्यीय, कृषि, तरकारी तथा फलफूललगायतका संस्था सफलरूपमा सञ्चालन गरेका छन् ।
राज्यले सहकारीलाई अर्थतन्त्रको मूल खम्बामा समावेश गरेको वर्तमान अवस्थामा महिला सहकारीको भूमिका पनि उल्लेख्यरूपमा रहेको राष्ट्रिय सहकारी संघकी सञ्चालक ओमदेवी मल्ल जोशीले जानकारी दिइन् । सहकारीले महिला सशक्तीकरणमा टेवा पुगेको उनी बताउँछिन् । चार लाखभन्दा बढी महिलाहरू सहकारी संस्थामा आबद्ध छन् भने सहकारीमा ३० लाख मानिसले अप्रत्यक्षरूपमा रोजगारी गर्छन् । त्यसमध्ये १२ लाखभन्दा बढी महिलाको पहुँच छ ।
‘महिलाले सञ्चालन गरेको सहकारी संस्था आफंैमा उदाहरणीय छ,’ राष्ट्रिय सहकारी संघकी सञ्चालक ओमदेवी मल्ल जोशी भन्छिन्, ‘ती ९७ प्रतिशत सफल भएका छन् ।’ सम्पूर्ण सहकारीमा महिलाहरू २० प्रतिशत नेतृत्वतहमा पुग्न सफल भएको उनको भनाइ छ । गत वैशाखदेखि लागू भएको सहकारी मापदण्डमा ३५ प्रतिशत महिलालाई सहकारीमा आबद्ध गराउने नीति लिए पनि त्यसको कार्यान्वयन हुन नसकको उनले बताइन् । महिलाले मात्रै सञ्चालन गरेका सहकारी संस्थाभन्दा पनि ग्रामीणस्तरमा सञ्चालित सहकारीले सफलता पाएको उनको दाबी छ ।
महिलाहरू बिस्तारै चुल्होचौकोबाट सहकारीमा संगठित हुन थालेका छन् । सहकारी स्थापना गरी मासिकरूपमा पैसा बचत गर्ने बानीको विकास भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारी कृषि तथा सहकारी मन्त्रालयमा पेस गरेको राष्ट्रिय सहकारी नीतिमा महिलाले सञ्चालन गरेको सहकारी संस्थालाई बढी जोड दिइएको बोर्डले जनाएको छ ।
‘नेतृत्वतहमा महिलालाई स्थान दिने परिपाटि विकास भएको छैन्’, जोशी भन्छिन, ‘महिला पनि पुरुषभन्दा प्रतिस्पर्धामा उत्रन कमी छैनन् ।’ देशभरका प्रारम्भिक सहकारी संस्थामा ३३ भन्दा बढी प्रतिशत महिला आबद्ध छन् । सहकारी सिद्धान्त, मूल्य-मान्यता र ऐनअनुरूप नै उनीहरूले सहकारीहरू सञ्चालन गरिरहेको विभागको भनाइ छ ।
करिब एक हजार सात सय बचत तथा ऋण सहकारी, करिब छ सय बहुउद्देश्यीय, तीन सयभन्दा बढी कृषि सहकारी संस्था महिलाले मात्रै सञ्चालन गरेको सहकारी विभागको अनुमान छ । ०६८ असार मसान्तभन्दा पछिको तथ्यांक भने विभागले निकालेको छैन । त्यस्तै तरकारी तथा फलफूल, उपभोक्ता, स्वास्थ्य, मौरी पालन, चिया, कफी सहकारी संस्था पनि महिलाले सञ्चालन गरेका छन् ।

नेफस्कुनद्धरा घुम्ती सेवा

काठमाडौ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ -नेफ्स्कुन) आफ्ना सदस्य सहकारी संस्थामार्फत घुम्ती आर्थिक सेवाका साथै एटिएम सेवा दिने तयारीमा जुटेको छ ।
नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष ऋषिराज घिमिरेले नेफ्स्कुनले यसै महिनादेखि राजधानीमा गुणस्तरीय व्यवस्थापनका साथ सवल र सक्षम सहकारी संस्थाबाट दुवै सेवा सुरु गर्न लागेको र यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । कस्मिक इन्टरनेसनल एकेडेमी कोटेश्वर र सफ्टवेयर निर्माता एक्स्क्लुसिभ माइन्डको सहयोग तथा नेफ्स्कुनको आयोजनामा सोमबार आयोजित सहकारी संस्थाका व्यवस्थापक र सूचना अधिकृतहरूको तीनदिने कम्प्युटराइज्ड लेखाप्रणाली तालिमको उद्घाटनका अवसरमा उनले सो कुरा बताएका हुन् ।
सदस्य बचत तथा ऋण सहकारी संस्थालाई सूचना प्रविधिको तालिम दिने पहिलो संस्थाका रूपमा नेफ्स्कुनले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले ०४५ देखि नेपालमा सुरु भएको जनताको सहकारीले तुलनात्मकरूपमा धेरै फड्को मारेको बताए । संस्थाका महासचिव डिबी बस्नेतले नेफ्स्कुन आफ्ना सदस्य बचत तथा ऋण सहकारी संस्थाको हिसाब-किताब पारदर्शी बनाउन मात्र नभई एकरूपता ल्याउन छुट्टै सफ्टवेयरको विकास गर्न लागिपरेको उल्लेख गर्दै आफ्नो उद्देश्यअनुरूप काम गर्ने संस्थाले छिट्टै यस विषयमा सफलता पाउने धारणा राखे । नेफ्स्कुनका सूचनाप्रविधि अधिकृत लव श्रेष्ठ, सहायक अधिकृत राजन सुवेदी तथा सफ्टवेयर निर्मात् कम्पनी एक्स्क्लुसिभ माइन्डका निराजन सुवेदीलगायतले प्रशिक्षण दिने सो तालिममा काठमाडौं उपत्यकाका साथै काभ्रे, दोलखा, दाङ, नवलपरासी, धादिङ, मोरङ, सुर्खेत, गोरखाका ४२ वटा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक, सूचना अधिकृत र सहायक गरी एकसय चार जनाको सहभागिता छ ।
सूचना अधिकृत लव श्रेष्ठका अनुसार नेफ्स्कुनले हालसम्म मुलुकभरिका एक सयभन्दा बढी सहकारी संस्थामा यस प्रकारको सफ्टवेयर प्रयोगमा ल्याइएको छ भने नेफ्स्कुनमा हाल करिब एक हजार दुई सय सहकारी संस्था आबद्ध छन् ।

 

प्रतिक्रिया