यस्तो पनि वेबसाइट

काठमाडौं, ४ वैशाख । बिमा कम्पनीहरूलाई समय समयमा वेबसाइट अपडेट गर्न निर्देशन दिने नियामक निकाय बिमासमितिकै वेबसाइट अपडेट हुने गरेको छैन । बिमासमितिको वेबसाइटमा दुई वर्षअगाडिको तथ्यांक मात्र उपलब्ध छ ।
बिमासमितिका अध्यक्ष डा. फत्तबहादुर केसीले कर्मचारी अभावका कारण वेबसाइट अपडेटमा ढिलाइ भएको बताए । बिमाकम्पनीहरूले समितिमा ढिला कागजात पेस गर्ने गरेकाले पनि वेबसाइट अपडेटमा ढिलाइ भएको उनको दाबी छ ।
बिमासमिति बिमाकम्पनीहरूको नियामक निकाय हुनाले समितिको वेबसाइट सरोकारवाला कम्पनीलगायत बिमाक्षेत्रमा चासो राख्ने सबैले हेर्ने वेबसाइट नै हो । बिमासमितिले मुलुकभर सञ्चालनमा रहेका १६ निर्जीवन, आठ जीवन र एक संयुक्त गरी २५ बिमाकम्पनीको नियमन र सुपरीवेक्षण गर्ने गरेको छ । बिमाकम्पनीहरूले गत आर्थिक वर्षमा १७ अर्ब ६२ करोड रुपियाँको कारोबार गरेका छन् । यो मुलुकको गत आवको कुल गार्हस्थ उत्पादनको एक दशमलव ३१ प्रतिशत हो । गत वर्षको तथ्यांकअनुसार जीवन बिमाको पि्रमियम संकलन वाषिर्क २० प्रतिशतले र निर्जीवन बिमाको पि्रमियम संकलन वाषिर्क १० प्रतिशतले बढिरहेको छ ।
अर्बौं रुपियाँको कारोबार गर्ने बिमाकम्पनीहरूको नियामक निकाय बिमासमितिले कुनै पनि तथ्यांकहरू अद्यावधिक गर्ने गरेको छैन । बिमासमितिको वेबसाइट अवलोकन गर्दा तथ्यांकमा दुई वर्षअगाडिको बिमाकम्पनीहरूको तथ्यांक मात्र भेटिन्छ । जबकि बिमासमितिले बिमाकम्पनीहरूलाई ०६५ मा निर्देशन जारी गरेर नै बिमाकम्पनीहरूलाई वेबसाइट निर्माण गर्न र समयसमयमा अद्यावधिक गर्न निर्देशन जारी गरेको थियो । बिमासमितिले जारी गरेको वेबसाइटसम्बन्धी व्यवस्था, ०६५ अनुसार सो व्यवस्था ०६५ भाद्र १ गतेबाट लागू गरिएको हो ।
समितिले जारी गरेको सो निर्देशनमा बिमाकम्पनी सञ्चालक समिति सदस्यको विवरण, व्यवस्थापनमा संलग्न प्रमुख कार्यकारीदेखि विभागीय प्रमुखसम्मको जानकारी र नागरिक बडापत्र अनिवार्यरूपमा वेबसाइटमा राख्नुपर्ने उल्लेख छ । त्यस्तै वेबसाइटमा राखिएका विषयवस्तुको सूची, कम्पनीले जारी गरेका बिमालेखहरूको विस्तृत विवरण, सम्पर्क ठेगानासमेत वेबसाइटमा राख्नुपर्ने छ । कम्पनीले समयसमयमा जारी गरेका सूचनाहरू, प्रेसवक्तव्य एवं पत्रिका र जर्नल प्रकाशित गरेको भए सोसमेत वेबसाइटमा उल्लेख गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ । वेबसाइटमा संस्थागत लक्ष्य, प्रतिक्रिया, प्रायः सोधिने प्रश्न, बिमाकम्पनीसँग आबद्ध बिमाअभिकर्ताहरूको जानकारी, कम्पनीले नियुक्त गरेका सर्भेयरको जानकारीसमेत खुलाउनुपर्छ । वेबसाइट अनिवार्यरूपमा नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ ।
बिमा कम्पनीले वेबसाइटमा अनिवार्यरूपमा विगत पाँच वर्षको प्रकाशित वाषिर्क प्रतिवेदन हरेक आवको प्रत्येक चौथो महिना समाप्त भएको मितिले १५ दिनभित्र लगानीको चौमासिक विवरण, कारोबारको चौमासिक विवरण, दाबीको विवरण, पुनर्बीमाको विवरण, स्वीकृत तालिमको विवरण आदि तयार गरिराख्नु पर्ने उल्लेख छ ।

प्रतिक्रिया