होटलदेखि घरसम्म भारु बटुल्दै

नेपालगन्ज, ३ वैशाख । भारतीय रुपियाँको अभावसँगै व्यापारीहरू भारतबाट मजदुरी गरी फर्किएका सर्वसाधारणबाट भारतीय नोट बटुल्ने अभियनामा लागेका छन् । त्यस्ता व्यापारीहरू  होटल र घरघरसमेत जाने गरेको स्थानीयवासीले बताए ।
किराना तथा कपडा पसलमा समेत यस्तो कारोबार भइरहेको छ । नेपालगन्ज भन्सार कार्यालय वरिपरिको जयसपुरलगायतका क्षेत्रमा घरघरमै भारुको सटही हुने गरेको छ । भन्सार क्षेत्रमा दुईदेखि तीन प्रतिशत कमिसनमा भारतीय नोट साट्ने गरिएको भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक अधिकृतले बताए ।
सो क्षेत्रमा सात प्रतिशतसम्म कमिसन लिएर नेपाली रुपियाँ साट्ने गरेको स्रोतले बतायो । बजारमा चर्को अभाव भएपछि नेपाल-भारत सीमा जमुनहा र रुपैडिहासम्मै ‘दलाल’हरूले घर फर्किने नेपालीसँग खुलेआम दिनहु ‘बार्गेनिङ’ गर्ने गर्छन् । नेपालगन्ज बसपार्कका होटल सञ्चालक सिमानामै पुगेर उनीहरूलाई फकाउँछन् ।
सञ्चालकहरू सित्तैमा लिएको भारु महँगो कमिसनमा साट्छन् । ‘बस बिसौनी तथा रुपैडिहा बजारसम्मै पुगेर मजदुरलाई होटलमा ल्याएर फकाइन्छ,’ सीमा प्रहरी चौकी जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक महेन्द्र रानाले बताए । मध्यपश्चिमका अधिकांश स्थानीय बासिन्दा रोजगारीका लागि भारत जान्छन् । भारु भित्र्याउने मुख्यस्रोत नै नेपाली कामदार हुन् । त्यसैले दाङ, सल्यान, जाजरकोटलगायतका पहाडी जिल्लाका सर्वसाधारण घर र्फकंदा नेपालगन्जमा बस्ने गर्छन् । सोही मौकाको फाइदा छोपेर ती व्यवसायीलेे उनीहरूसँग भारु लिने गरेका छन् ।
‘केही व्यापारीले निश्चित कमिसन दिएर स्थानीय एजेन्ट नै राखेका छन्,’ नेपालगन्जको एक बैंकका प्रबन्धकले भने ‘संकलित भारु नेपालगन्जमा ल्याएर चर्को कमिसनमा साटिन्छ ।’ व्यापारीले सर्वसाधारणबाट सजिलै भारु लिने गरिरहेका बेला १६५ देखि १७० रुपियाँ तिरेर एक सयको भारतीय नोट किन्न स्थानीय बाध्य छन् ।
नेपालगन्जमा ११ वटा मनिचेन्जर व्यवसायी छन् । धम्बोझीचोकस्थित एक मनिचेन्जरका सञ्चालकले नेपालगन्जका ठूलादेखि साना पसल र होटेलमा भारतीय नोटको अवैध कारोबार हुने गरेको बताए । भन्सारनजिक राष्ट्र बैंकबाट मान्यताप्राप्त दुई मनी चेन्जर सञ्चालनमा छन् तर मनी चेन्जरमा पनि भारु अभाव भएकाले गैरकानुनी धन्दा फस्टाउने मौका पाएको हो ।
बैंकले मनी चेन्जरहरूलाई दुई दिनमा २५ हजार रुपियाँसम्म मात्र दिने गरेको छ । त्यसैले पनि यात्रु तथा उपचारका लागि भारतीय अस्पताल जाने बिरामीहरू चर्को कमिसनको मारमा पर्दै आएका हुन् । सौरहवा २ बर्दियाकी २६ बर्सीया निर्मला थारुको भेरी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकले लखनउँ रिफर गरे । तर, बजारमा भारु नोट नपाइएपछि उनका आफन्तले समयमै अस्पताल पुर्‍याउन पाएनन् । ‘भारु खोज्दैमा दिन बित्यो, धन्न बिरामीलाई केही भएन,’ बुबा आशाराम थारुले भने ।
राष्ट्र बैंकबाट मान्यताप्राप्त मनी चेन्जरबाहेक भारतीय नोटको कारोबार कसैले पनि गर्न नमिल्ने नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख कल्याणबन्धु आर्यालले बताए ।  ‘तर, भारतीय रुपियाँ अभाव भएकाले कहीँ कतै त्यस्तो कारोबार भएको हुनसक्छ,’ उनले भने, ‘त्यसो गरिएको भेटिए कारबाही हुन्छ ।’

प्रतिक्रिया