ढुकुरलाई न्याउलीको म्यासेज

स्कुलबाट आएर खाजा खाइरहेको डेबिटले चुच्चामा चारो बोकेर उडिरहेका एक जोडी ढुकुरलाई देख्यो । उसले तुरुन्तै विचार गर्‍यो- ‘पक्कै पनि यिनीहरूको गुँड यहीँ नजिकै कतै हुनुपर्छ । पत्ता लगाउन पाए क्या मोज हुन्थ्यो !’ डेबिट खाजा खान छाडेर ढुकुरको पिछा गर्न लाग्यो । चलाख डेबिट बगैँचामा ओर्लिएर सानो धूपीको पोथ्रामा लुक्यो । लुकेर बसेको डेबिटलाई सोझा ढुकुरढुकुर्नीले देखेनन् । ढुकुर्नी चारो लिएर सिधै गुँड भएको टाँकीको रूखमा बच्चालाई चारो खुवाउन पसी । डेबिटले गुँड पत्ता लगाइछाड्यो । गुँडबाट ढुकुरढुकुर्नी उडेपछि डेबिट बिस्तारै रूखमा चढ्यो । पखेटा पलाइसकेका बच्चा देखेर ऊ खुसी हुँदै ओर्लियो र भोलि शनिबार छुट्टीको दिन साथी सिजनलाई बोलाई झार्ने योजना बनाएर फेसबुक वालमा लेख्यो, ‘सिजन भोलि शनिबार मेरो घर आउनू, मैले घरनजिकै बगैँचामा ढुकुरको गुँड पत्ता लगाएको छु । बचेराहरू हुर्किएका छन् । ठीक्क झार्ने बेला भएको छ । गज्जबले बिदा मनाउनुपर्छ ।’
फेसबुक वालमा पोस्ट गर्नेबित्तिकै अनलाइनमा रहेको न्याउली चकित भयो । ढुकुरका बच्चा मार्ने योजना थाहा पाएर न्याउली चिन्तित भयो । ऊ ढुकुरढुकुर्नीलाई यो जानकारी तत्काल दिन चाहन्थ्यो तर कुनै सजिलो उपाय थिएन । मोबाइल नम्बर पनि डिलिट भइसकेको थियो । जानकारी दिने उपाय खोजिरहेको न्याउलीले पुरानो डायरीमा ढुकुरको इमेल आइडी रहेको सम्झ्यो । त्यो खोजेर ढुकुरलाई मेल लेख्यो ।
पि्रय ढुकुर
प्यारो सम्झना
तपाईंहरूका सन्तान हुर्किरहेको खबरले हषिर्त छु । सँगै अत्यन्त दुःखी पनि भएको छु । तपाईंका सन्तान हुर्किरहेको बगैँचानजिकैको डेबिट भन्ने केटाले थाहा पाएछ । शनिबार उसले साथी सिजनलाई बोलाएर मार्ने योजना बनाएको छ । त्यसैले त्यहाँबाट जतिसक्दो चाँडो अर्को रूखमा सरिहाल्नु ।
तिम्रो पि्रय साथी
न्याउली
शनिबार बिहान उठ्नबित्तिकै ढुकुरले मेल चेक गर्‍यो । न्याउलीको मेल पढेर ऊ आत्तियो । ‘थ्यांक्स्’ -न्याउलीलाई छोटो रिप्लाई लेख्यो । ढुकुर्नीलाई बोलाएर सबै जानकारी गरायो अनि तुरुन्तै बचेरालाई लिएर टुनीको बोटमा सरिहाल्यो ।
शनिबार दिनको ११ बजे डेबिट र सिजन ढुकुरका बच्चा झार्न बगैँचातिर लागे । टाँकीको फेदमा पुगेपछि डेबिट रूख चढ्यो । पछि-पछि सिजन । उनीहरू बिस्तारै गुँडछेउ पुगे । रूखमा गुँड मात्रै देखेर उनीहरू खिसि्रक्क परे । डेबिटले गुँड भत्कायो । गुड भत्काउँदा तल्लो हाँगामा रहेको सिजनको अनुहारभरि बचेराको विष्टा लाग्यो । सिजनले अनुहारको विष्टा पुछ्दै ठट्टा गर्‍यो- ‘चोक्टा खान गा’की बूढी झोलमा डुबेर मरी ।’ दुवै जना हाँसे । टुनीका टुप्पामा बसेर सबै गतिविधि नियाली रहेको ढुकुरले ल्यापटप अन गरेर फेसबुक स्टाटसमा न्याउलीलाई ‘धन्यवाद’ लेख्यो ।

प्रतिक्रिया