देउवा निकट विद्यार्थी माथि प्रहरी हस्तक्षेप

काठमाडौं, १७ चैत । नयाँ कार्यसमिति गठनसँगै बिवादमा परेको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस नेता शेरबहादुर देउवा समूहका विद्यार्थी माथि प्रहरीले हस्क्षेप गरेर तितरबितर बनाएको छ ।

काठमाडौंको पुतलिसडकस्थित केन्द्रीय कार्यालयमा आज ताला बन्दी गर्न पुगेको देउवा समूहका झण्डै तीन दर्जन बढि नेता तथा कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको नेविसंघ नेता ऋषिकेश जंग शाहले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र आन्तरिक बिवादका बिषयमा छलफल गर्न केन्द्रीय समितिको अनौपचारीक बैठक बस्न लागेको चालपाएर तालाबन्दी गर्न पुगेका देउवा समूहका कार्यकर्तालाई प्रहरीले पुतलिसडकको स्टरमल नजिकै रोकेको थियो ।

देउवा समूहका विद्यार्थी नेतालाई केन्द्रीय कार्यालय तर्फ प्रवेश गर्न नदिएपछि विद्यार्थी नेताहरुले प्रहरी माथि ढुङगा प्रहार गरेको महानगरीय प्रहरीले जनाएको छ । ढुङगा प्रहार भएपछि प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता माथि लाठी प्रहार गरेको थियो ।

प्रहरीको लाठी प्रहारबाट नेविसंघका पूर्व महामन्त्री जितजंग बस्नेत, नेविसंघ नेता टीका दाहाल, सुनिता पोखरेल र पूर्व उपाध्यक्ष नयनसिंह महरा घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । झडपका क्रममा उनीहरुले नेपाल आयल निगमको एक सवारी साधनमा तोडफोड गरेर क्षति पुराएका छन् ।

केन्द्रीय समिति पुर्नगठन पछि असन्तुष्ट देउवा समूहका २८ जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएर आन्दोलन गर्दै आएका छन् । देउवा समूहले बिवाद अन्त्य नगर्दा सम्म नेविसंघको गतिविधि अगाडि नबढाउन दबाव दिदै आएको छ ।

संस्थापन पक्षका केन्द्रीय सदस्य युपी लामिछानोले स्ववियु निर्वाचनका बारेमा छलफल गर्न अनौपचारीक रुपमा बोलाएको केन्द्रीय समितिलाई बिथोल्न असन्तुष्ट पक्षका विद्यार्थी नेताहरु आएको आरोप लगाए ।

यद्यपि उनले शान्ति पूर्ण रुपमा हुने असन्तुष्ट पक्षको कार्यक्रमलाई आफूहरुले हस्तक्षेप गर्ने कुनै योजना नरहेको दाबी गरे ।

प्रतिक्रिया