एकैदिन तीन चलचित्र

काठमाडौः शुक्रबार रिलिज हुने परम्परा धान्दै आजबाट एकसाथ तीन चलचित्र प्रदर्शनमा आउने भएका छन् । उपत्यका र मोफसलबाट प्रदर्शनमा आउने तीन चलचित्र हुन्- अमर प्रीति, विरासत र दुलही रानी ।
उदय सुब्बाको निर्देशनमा मायाप्रेम तथा एक्सनलाई प्राथमिकता दिइएको अमर प्रीतिमा विराज भट्ट, दिलीप रायमाझी, अरुणिमा लम्साल आदिको मुख्य भूमिका छ । चलचित्रमा मायापे्रमका अलावा विभिन्न सामाजिक मुद्दा पनि उठान गरिएको निर्माता मदन इङ्नामले जानकारी गराए । अर्को चलचित्र विरासत रिमेश अधिकारीको निर्माणमा तयार भएको हो । यसमा भुवन केसी, सोनिया केसी, जिके शर्मा, शुभेच्छा थापा, सिर्जना बस्नेत आदि मुख्य कलाकार छन् । नायक भुवन केसीले अन्तिममा समय नदिएका कारण उनको डबिङ भने अरूको स्वरमा गराइएको बुझिएको छ । यसअगाडिका चलचित्रबाट खासै व्यावसायिक लाभ हासिल गर्न नसकेका निर्माता अधिकारीले यस चलचित्रबाट निकै आशा गरेको उल्लेख गरे । गोविन्द गौतमको निर्देशनमा तयार भएको यो चलचित्र उपत्यकाबाहिर मात्र प्रदर्शनमा आउन लागेको छ ।
व्यवसाय उति राम्रो नगरे पनि शृंखलाबद्ध निर्देशकका रूपमा चिनिएका शोभित बस्नेतको दुलही रानी पनि यी दुई चलचित्रसँग प्रतिस्पर्धा गर्न तयार भएको छ । मुकेश आचार्य, जयकिशन बस्नेत, रागिनी खड्गीलगायतले मुख्य भूमिका निर्वाह गरेको यस चलचित्रको वितरणसमेत निर्देशक शोभितले नै गरेका हुन् । द्वन्द्व-निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनीले यसै चलचित्रबाट चलचित्रक्षेत्रमा डेब्यु गरेकी हुन् । यीमध्ये अमर प्रीति र दुलही रानी काठमाडौं उपत्यकालगायत देशभर प्रदर्शन हुनेछन् भने विरासत उपत्यकाबाहिर मात्र प्रदर्शनमा आउन लागेको हो ।

प्रतिक्रिया