नागरिकता बदरका लागि उजुरी

महेन्द्रनगरः कञ्चनपुर प्रशासनले गैरकानुनी रूपमा १२ भारतीयलाई दिएको नागरिकता बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले बिहीबार अख्तियारमा उजुरी गरेका हुन् ।
सिडिओ वासुदेव दाहालले आर्थिक प्रलोभनमा गैरनेपालीलाई नागरिकता वितरण गरेको उजुरीमा उल्लेख गरिएको छ । उनले गैरकानुनी तवरले वितरण गरिएका नागरिकता बदर र सिडिओ दाहाललाई कारबाहीको माग गरेका छन् ।
‘सर्वोच्चले समेत रोक लगाइसकेको अवस्थामा सिडिओले गैरकानुनी ढंगले नागरिकता दिए,’ लम्सालले भने, ‘उनीहरूलाई जन्मको आधारमा नागरिकता दिन मिल्दैन ।’
१५ माघदेखि २ चैतसम्म प्रशासनले १२ भारतीयलाई जन्मका आधारमा नागरिकता दिएको थियो । नागरिकताका लागि पाच वर्षअघि आवेदन दर्ता गरेका ४३ गैरनेपालीमध्ये १२ लाई एकाएक निर्णय गरेर प्रशासनले नागरिकता दिएको हो ।
प्रशासनले भारतीय तरुण लखेरा, हिमांशु लखेरा, विजय जयसवाल, सचिन लखेरा, दीपक गुप्तालाई नागरिकता दिएको थियो । यस्तै, अनील हरिजन, रूपकिशोर गुप्ता, अश्विनकुमार लखेरा, महेन्द्र ठाकुर, विपिनकुमार देवल, रामेश्वर दयाल गुप्ता र कृष्णऔतार देवललाई पनि नागरिकता दिइएको थियो ।
‘नेपालीकै हकमा एक महिना पुरानो सिफारिस प्रशासनले मान्दैन,’ केन्द्रीय सदस्य लम्सालले भने, ‘पाच वर्ष पुरानो सिफारिसलाई आधार मानेर उनीहरूलाई नागरिकता वितरण गर्ने काम भएको छ ।’
लामो समयदेखि बसोबास गरेका र नेपालमा जन्मेका व्यक्तिका हकमा १० मंसिर ०६३ मा दुई वर्षभित्र नागरिकता लिइसक्नुपर्ने वा आवेदन दिइसक्नुपर्ने सरकारले प्रावधान बनाएको थियो । प्रावधानअनुरूप ०६३ सालमा जिल्ला प्रशासन कार्यालयमा ४३ गैरनेपालीको आवेदन परेको थियो । ४३ मध्ये १२ लाई पछिल्लो तीन महिनामा सिडिओ दाहालले नागरिकता दिएका हुन् । (सौस)

प्रतिक्रिया