चमेलियाको चमकमा पश्चिम सेती

पश्चिम सेतीबारे व्यापक बहस भइरहेका बेला समाचार संकलनका क्रममा सुदूरपश्चिम घुम्ने मौका मिल्यो । निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाबारे समाचार संकलनका लागि सुदूरपश्चिमको दार्चुला जाने क्रममा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडीलगायत क्षेत्रका सर्वसाधारणको कुरा पनि सुन्न पाइयो । डडेल्धुरामा त विरोध कार्यक्रममा पश्चिम सेती बनाउन नदिनेविरुद्ध आक्रोश पनि सुनियो । राजधानीमा पश्चिम सेतीबारे भएको समझदारी, प्राकृतिक स्रोतसाधन समितिको बैठकमा उठेका प्रश्न र छानबिन समिति गठन, विभिन्न विज्ञका पक्ष र विपक्षमा आएका तर्कको रिपोर्टिङदेखि सुदूरपश्चिमसम्मै पुगेर स्थानीयवासीको भनाइसम्म सुन्दा पश्चिम सेतीबारे धेरै भ्रम देखिए । प्राकृतिक समितिले समझदारी गर्दा कानुन, विधि र प्रक्रिया नपुर्‍याएको बताइरहेका बेला समितिले छानबिनका लागि दिइएको निर्देशनलाई पश्चिम सेती नबनाउने षड्यन्त्रका रूपमा व्याख्या गरियो ।
स्थानीयवासीलाई त पश्चिम सेती बन्ने बित्तिक्कै कायापलट हुन्छ भनेर आश्वासन पनि बाडियो । यता पहिला प्रक्रिया र विधिबारे मात्र बढी बोलेको समितिले स्थानीयवासीलाई खुसी पार्ने नाममा लिन सक्ने फाइदाबारे स्पष्ट रूपमा व्याख्यासहित नबोलेको भन्दै स्पष्ट पार्नका लागि वकालत गर्न थाल्यो । यसले हिजो स्मेकसगको समझदारी जेसुकै भए पनि पश्चिम सेती अहिले बनाउन नसके भारतको जित र बनाउन सके चीनको जितका रूपमा व्याख्या गरियो । कुनै पनि आयोजनालाई यति धेरै राजनीतिकरण गर्नु हुदैनथ्यो, गरियो । सुदूरपश्चिम पुग्दा यस्ता थुप्रै भ्रम, आशंका र आश्वासन भेटिए ।
राजधानी काठमाडौंबाट सबैभन्दा टाढा दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको सुरुङ, विद्युत्–गृह र बाध निर्माणमा देखिएको तीव्रता र पश्चिम सेतीबारे भएका तात्ताता बहस दुवै सुदूरपश्चिमको भविष्यसग जोडिएका छन् । दुवैमा फरक यति पाइयो कि चमेलिया जलविद्युत्को चमक जताततै फैलिन थालिसकेको छ तर पश्चिम सेतीबारे अन्योलको पंखा अहिले घुमिरहेको छ । जो आजभन्दा १६ वर्षअघिदेखि निरन्तर रूपमा घुमिरहेको थियो । आयोजना निर्माण कार्यसगै स्थानीयवासीले रोजगार पाएका छन् । आर्थिक आयआर्जन बढेको छ । गाउमा बिजुलीदेखि मोटरबाटो पुगेको छ । हुन त आयोजना निर्माण सुरु भएदेखि अहिलेसम्म विभिन्न माग राखी ६७ दिन आयोजना निर्माणमा स्थानीयवासीले अवरोध पुर्‍याएको आयोजनाले जनाएको छ तर पनि यहाका सर्वसाधारण आयोजना निर्माणलाई विकासको ढोकाका रूपमा लिन्छन् । रोजगारीका लागि विदेश र सहर छिर्नुपर्ने उनीहरू धेरै अहिले यही आयोजनामा सक्रिय भएका रहेछन् । ३० मेघावाटको यो आयोजना निर्माणले कोल्टे फेरेको त्यो दृश्य साच्चै वर्णनयोग्य छ ।
स्मेकले पश्चिम सेती निर्माणको कुरा गर्दा आएका विरोधभन्दा कैलाली, डडेल्धुरा क्षेत्रमा पश्चिम सेती बन्नुपर्छ भन्ने समर्थक आवाज पश्चिम सेतीका लागि ऊर्जा हुन् । यी ऊर्जारूपी आवाज अहिले जताततै देख्न सकिन्छ । चमेलिया जलविद्युत्को अवलोकन गर्ने क्रममा पुगेका ऊर्जा राज्यमन्त्री सूर्यमान दोङलाई डडेल्धुरामा रोकेर पश्चिम सेती निर्माणका लागि लिखित र मौखिक दुवै रूपमा प्रतिबद्धता जनाउन लगाए । पश्चिम सेती बनाउनुपर्छ भनेर चक्काजाम गरेका उनीहरूमध्ये डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश साउदको आक्रोश कुनै युद्धकालीन अवस्थाको भन्दा कम्ती थिएन । उनले भने, ‘पश्चिम सेतीको विरोध गर्ने समितिका मान्छे र विरोध गर्ने सबै चिनेका छौ, पश्चिम सेती नबने टाउको काटिन्छ ।’ उनीमात्र होइन, अधिकांशको आक्रोश संसद्को प्राकृतिक स्रोतसाधन समितिप्रति बढी थियो । उनीहरूको पश्चिम सेतीका लागि यो संगठित आक्रोशरूपी समर्थन पश्चिम सेती निर्माण सम्पन्न नभएसम्मका लागि यस्तै रूपमा रह्यो भने पश्चिम सेती निर्माण हुने पक्का छ ।
तर, भोलि पश्चिम सेती निर्माणका क्रममा आउने चुनौती र समस्या समाधानका लागि यी संगठित आवाज रहिरहन्छन् कि हराएर जान्छन् भन्ने प्रश्न अनुत्तरित छन् । आन्दोलनमै सहभागी एकजनालाई तपाईंका अरू माग केके छन् भनेर सोध्दा उनले फर्रर भने, ‘पश्चिम सेती बनाउनुपर्छ तर यहा बन्दा यहाका बासिन्दाले बढीभन्दा बढी फाइदा पाउनुपर्छ, रोजगारी पाउनुपर्छ, हाम्रा लागि विशेष कार्यक्रम ल्याउनुपर्छ, उचित मुआब्जा दिनुपर्छ आदि आदि …।’ भविष्यमा आउने यी प्रश्नभन्दा अहिले पश्चिम सेतीबारे राजधानीमा बसेर पक्ष र विपक्षमा तर्क गर्नु बेकार हुन् किनभने स्थानीयस्तरबाट आउने विरोधले धेरै विद्युत् आयोजना निर्माणमा ढिलाइ भएका उदाहरण प्रशस्त छन् । सात सय ५० मेगावाटको पश्चिम सेती बन्नुपर्छ तर, पश्चिम सेती बन्नुपर्छ भन्ने नाममा दिइने अनावश्यक आश्वासन र बन्न दिनु हुदैन भनेर लगानी गर्न आएको लगानीकर्तालाई विभिन्न नाममा फर्काउने दुवै चालबाजी गलत छन् ।

प्रतिक्रिया