कांग्रेस नेताहरू जागरण अभियानमा नजाने

काठमाडौं, १४ चैत । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा सदस्य मनोनयनसगै बढेको विवादका कारण कांग्रेसको जागरण अभियान प्रभावित हुने भएको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालाले सहमतिविपरीत संघको केन्द्रीय समिति गठन गरेको आरोप लगाउदै आएका बेला पार्टीले तय गरेको कार्यक्रममा शीर्षनेता नै सहभागी नहुने भएका छन् र्। शीर्षनेताहरूले सम्बोधन गर्ने भनिएका अधिकांश जिल्लाका कार्यक्रम स्थगित भएको छ । उपसभापति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भनिएको सात ठाउको कार्यक्रम भने कोइरालाको उपस्थितिमा हुने भएको छ । देउवालाई पितृशोक परेकाले कार्यक्रम स्थगित गरिएको देउवानिकट एक नेताको दाबी छ ।
चैत र वैशाखलाई ‘गाउ जागरण तथा शान्ति अभियान’को नाम दिएर कोइराला, देउवा र पौडेलसहित केन्द्रीय सदस्यहरू संगठन सुदृढीकरणका लागि जिल्ला जाने कार्यक्रम तय भएको थियो । २६ चैतमा वीरगन्जमा गर्ने भनिएको चितवन, मकवानपुर, बारा र रौतहटको संयुक्त सभा पनि स्थगित भएको छ । सभालाई तीनैजना शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम थियो ।  कांग्रेसले १९ देखि २६ चैतभित्र सबै जिल्लामा जिल्लासभाको कार्यक्रम तय गरेको थियो । शान्ति, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका लागि दबाब दिन भन्दै कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।
कार्यकर्ताको रेकर्ड राख्ने
महामन्त्री कृष्णप्रसाद सिटौलाले १५ वैशाखभित्र जिल्लादेखि गाउ इकाइसम्मको रेकर्ड पठाउन सोमबार जिल्ला सभापतिहरूलाई परिपत्र गरेका छन् । जिल्ला कार्यसमिति, क्षेत्रीय र नगरसमितिका पदाधिकारी तथा गाउ र वडा इकाइका सभापतिको नाम र सम्पर्क टेलिफोन नम्बर पठाउन निर्देशन दिइएको छ । परिपत्रअनुसार काम भए डेढ लाखभन्दा बढी नेता तथा कार्यकर्ताको नाम र सम्पर्क नम्बर पार्टीको केन्द्रीय कार्यालयमा उपलब्ध हुनेछ । कांग्रेसले कार्यकर्ताको रेकर्ड राख्न भन्दै पत्राचार गरेको भने यो नै पहिलोपटक हो ।

प्रतिक्रिया