एसएलसी परीक्षाका विकृति

फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा चलिरहेको छ । विसं १९९० देखि सुरु भएको एसएलसी परीक्षा ०६८ सम्म आइपुग्दा पनि परीक्षा प्रणाली, ढाचा, व्यवस्थापन र तामझाम पुरानै ढर्राका छन् । यसमा रत्तिभर पनि सुधार हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले सबै अञ्चलमा सहसचिवको नेतृत्वमा टोली पठाएर यसमा हुने विकृति नियन्त्रण गर्ने सुनियो । चिट चोराउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीलाई एक लाख रुपिया जरिवाना, ६ महिना कैद वा दुवै कारबाही गरिने पनि सुनियो । परीक्षामा सुधार गर्दै मर्यादित र व्यवस्थित बनाइनुपर्ने कुरा खुबै उठ्ने गरेको पाइन्छ तर आजसम्म भने सुधार भएको देखिदैन । सुधारका लागि जतिसुकै तत्परता देखाए पनि यस वर्षको परीक्षा पनि विगतका जस्तैमा सीमित रहने निश्चितप्रायः छ । परीक्षामा चिट चोर्ने र चोराउनेको बिगबिगी दिनप्रतिदिन बढिरहेको छ । चिट चोराइका नया नया रुप परीक्षा केन्द्रमा सहजै देख्न पाइन्छ । खेताला परीक्षार्थी राख्ने नया रोग पनि हामीकहा“ भित्रिसकेको छ । चिट चोर्नेलगायत परीक्षामा हुने विकृति सीमापारिबाट तराईका जिल्लामा हामी आफले भिœयाएका हौ । अब यो रोग तराईमा मात्र सीमित नरही पहाड हुदै हिमाली जिल्लामा पनि सरुवा रोगझ सल्किसकेको छ । यसको मुख्य जिम्मेवार पक्ष सरकार आफ हो ।
परीक्षा केन्द्र निर्धारण गर्ने बेलादेखि नै आफ्ना विद्यार्थीलाई कुन केन्द्रमा पार्ने भन्ने खेलमा मुख्यरुपले संस्थागत विद्यालयका प्रिन्सिपल र सामुदायिक विद्यालयका केही प्रधानाध्यापक निकै दौडधुप गर्छन् । केन्द्राध्यक्ष तोक्ने, निरीक्षक राख्ने र सिट प्लान गर्नेजस्ता कार्यमा उनीहरु नै मुख्य खेलाडीका रुपमा रहन्छन् । राम्रो स्थानमा  शतप्रतिशत परिणाम निकाल्न सके आप्mनो व्यापार फस्टाउने भएकाले उनीहरु मरिहत्ते गरेर लागेको देख्न पाइन्छ । परीक्षालाई दुर्गन्धित बनाउने अर्काथरी पात्र हुन् टयुसन मास्टर । उनीहरु केन्द्राध्यक्ष र निरीक्षक बन्नका लागि मरिहत्ते गर्छन् । रोजेकै केन्द्रमा बस्नका लागि विद्यार्थीमार्फत अभिभावकसम्म र अभिभावकमार्फत राजनीतिक दलका नेताहरुसम्म आफ्नो पहुच पुर्‍याउन उनीहरु पछि पर्दैनन् । दलका नेता, गाउका बुद्धिजीवी, समाजसेवी, पत्रकार र अभिभावक सबैको परीक्षाका सवालमा स्वार्थ मिल्ने भएकाले ट्युसन मास्टर तिनका पहिलो प्राथमिकतामा पर्छन् । सबैको दबाब धान्न नसकी जिल्ला शिक्षा अधिकारी पनि उनीसामु झुक्न बाध्य हुन्छन् । वास्तवमा हाम्रो चिट चोर्ने र चोराउने प्रथा आजको होइन । परीक्षामा खुलेआम किताब पल्टाएर सार्ने, उत्तरपुस्तिका साटासाट गर्ने, एकापसमा सल्लाह र छलफल गर्ने, आफ्नो ठाउ“ छाडेर सबैजना जान्नेकहा झुम्मिने, मौका पर्दा बोर्डमा नै उत्तर लेखिदिने प्रचलन नै भइसके । यतिमात्र नभई निरीक्षकले खल्तीमा चक, डस्टर, टाइप पेपर, कार्बन पेपर र डट्पेन, गाइड आदि बोकेर परीक्षा केन्द्रमै लैजाने प्रथा पनि स्थापित भैसकेको छ । निरीक्षकले किताबमा उत्तर खोजिदिने, गेसपेपर र गाइडमा फसेको उत्तर च्यातेर दिने चलन पनि पुरानै परम्परा हो । यसो हेर्दा निरीक्षक भनेको त प्रमुख जिल्ला अधिकरी, शिक्षा अधिकारी र प्रहरी नायब उपरीक्षक परीक्षा केन्द्रमा आउ“दा परीक्षार्थीलाई सतर्क गराउनेमा सीमित भएको पाइन्छ ।
शिक्षा मन्त्रालयले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा, आफ्नो गल्ती ढाकछोप गर्न विद्यालय नै बन्द गर्नाले पाठ्यक्रमको लक्ष्य प्राप्त हुन सकिएको छैन । पाठ्यक्रमका आधारमा पठनपाठनलाई निरन्तरता दिने जागर शिक्षकमा नदेखिनु र विद्यालयमा सरकारी अनुगमन तथा निरीक्षण व्यवस्था अत्यन्त कमजोर हुनुले शैक्षिक सुधारलाई ओरालोतिर लगेको छ । एकजना परीक्षार्थीको सरदर चारजनाका हिसाबले परीक्षा भवन वरपर सहयोगी उपस्थित हुने गरेको देखिन्छ । परीक्षा हाताभित्र राइफल सोझ्याएर ठूलो सङ्ख्यामा उपस्थित प्रहरीलाई हेर्दा भित्र ठूलै सङ्ग्राम हुन लागेको भान हुन्छ । यसरी परीक्षाको वातावरणलाई त्रासदीपूर्ण बनाइदा यसको असर बालबालिकामा पर्न गई सोचे अनुसारको परिणाम प्राप्त नहुने सम्भावना बढी रहन्छ । एसएलसी परीक्षामा देखापरेका यी र यस्तै तमाम विकृति नियन्त्रण सर्वप्रथम शिक्षक नियुक्तिदेखि नै ध्यान दिनु जरुरी छ । बौद्धिकरुपले ‘गतिला शिक्षकको गतिलै पढाइ र निम्सरा शिक्षकको निम्सरै पढाइ’ भन्ने कुरा शिक्षक नियुक्तिका बखत हेक्का राख्न सक्नुपर्छ । विद्यार्थीले मानेका, पत्याएका र उपलब्ध भएमध्ये श्रेष्ठतम व्यक्तिलाई शिक्षकमा नियुक्ति गर्ने हो भने विद्यालयमा पठनपाठन प्रभावकारी हुन गई परीक्षाका यी सब विकृति क्रमशः पाखा लाग्दै जान्छन् । अतः राम्रा र गुणवान् शिक्षक भिœयाउनतर्फ लागौं ।
(लेखक नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका निवर्तमान अध्यक्ष हुन् ।)

प्रतिक्रिया