बुझेको घरभाडा फिर्ता गर !

काठमाडौमा आफ्नै घर हुने सभासद्हरूले घरभाडाबापत सरकारी कोषबाट रकम लिइरहेको खुलेको छ । आफ्नै घरमा बस्ने तर संसद् सचिवालयबाट घरभाडा भने असुलउपर गर्ने नेताहरूको यस्तो प्रवृत्तिले हाम्रो राजनीतिमा लोभको तत्व हाबी रहेको प्रस्ट भएको  छ । लाखौ–करोडौ रुपिया मूल्य पर्ने घर भएका नेताले ६–७ हजारमा यसरी र्‍याल चुहाउछन् भने ६–७ लाख वा करोडको सवाल आए के गर्छन् होला ? आदर्श, समाज, जनता र देशका कुरा गर्नेले पनि नैतिकताको यो सामान्य मापदण्डको उपेक्षा गर्नु दुर्भाग्यबाहेक केही होइन ।
कसलाई भाडा उपलब्ध गराउने र कसलाई नगराउने भन्ने विषयमा कानुन मौन रहेको छ । यसैको फाइदा उठाउदै सभासद्हरूले ‘धन देखेपछि महादेवको तीन नेत्र’ भन्ने लोकोक्तिलाई चरितार्थ गरेका छन् । सरकारले डेरामा बस्ने सभासद्लाई उपलब्ध गराउन बनाएको नियमको धज्जी उडाउने यस्तो प्रवृत्ति डरलाग्दो द्रव्यमोह हो । त्यति मात्रै होइन यहा“निर नैतिकताको सङ्कट पनि देखिएको छ । कानुनमा घर हुनेले राज्यकोषबाट भाडा नलिनु भन्ने उल्लेख छैन भन्दैमा भाडा लिन मिल्दैन । कानुनमा थुप्रै कुरा उल्लेख छैनन् । तर, समाजले अलिखितरूपमा निर्धारण गरेका मूल्य, मान्यता र नैतिकता छन् । त्यही आधारमा रहेर सभासद्ले चल्नुपर्छ र अनैतिक काम बन्द गर्नुपर्छ ।
नैतिकता अरूले दिने वा थोपर्ने विषय होइन । नैतिकताका विषयमा कानुन र विधानमा व्याख्या वा व्यवस्था गरिएको पनि हुदैन । यो विवेकशील व्यक्तिमा आफसेआफ उत्पन्न हुने भावना हो । जसको मनमस्तिष्कमा समाजले अङ्गीकार गरेका अवधारणा रहन्छन्, ती व्यक्तिले नैतिकताको ख्याल गर्छन् । नैतिकता व्यक्तिको स्वभावजन्य प्रवृत्तिभित्र पर्ने विषय हो । कानुनले रोकेको छैन भनेर जेसुकै गर्न मिल्दैन । त्यसमा पनि नेपाली जनतालाई नया संविधान दिन्छौ भनेर कस्सिएका सभासद्हरूले सामान्य नैतिक मूल्य र मान्यताको समेत उल्लङ्घन गरेर लाजमर्दो कार्य गर्नु शोभनीय भएन । देख्नेलाई समेत अपच हुने यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र घर हुने नेता तथा सभासद्ले अहिलेसम्म राज्यकोषबाट लिएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्छ ।
सभासद् जनताका प्रतिनिधि हुन् । उनीहरू स्वच्छ र पारदर्शी हुनुपर्छ भन्ने जनचाहना छ । आफैद्वारा निर्वाचित सभासद्ले सामान्य मूल्य, मान्यता र नैतिकताविपरीत काम गरेको कसैले रुचाउदैन । अब कानुन संशोधन गरेर भए पनि घर हुनेले राज्यकोषबाट भाडा लिन नपाउने प्रावधान राख्नुपर्छ । घर हुनेलाई जनताले तिरेको करबाट डेराभाडा किन दिने ?
जब राजनीतिलाई छलनीति बनाएर प्रयोग गरिन्छ तब त्यो अनैतिक छवि बोकेर प्रकट हुन्छ । घरभाडा काण्डमा नेतासामु नैतिक बन्ने कि अनैतिक भन्ने प्रश्न खडा भएको छ । उनीहरूले अब ढिलो नगरी आफ्नो कित्ता छुट्याउनै पर्छ । अन्यथा, समाजले उनीहरूलाई घृणा र बहिष्कार गर्न थाल्नेछ । सरकारी ढुकुटीबाट राम्रै तलब–भत्ता उपलब्ध भइरहेको अवस्थामा घर भएका नेताले पनि निकृष्ट स्वभाव प्रदर्शन गर्दै नैतिकताविपरीत कार्य गर्नु हुदैन । सम्मानित पदमा पुगेका व्यक्तिले नैतिकताप्रति ख्याल गर्दैनन् भने अरू कसले गर्ने ? यसर्थ कानुन बनाएर भए पनि घर हुने सभासद्लाई राज्यकोषबाट भाडा उपलब्ध गराउने कार्य तुरुन्त रोकिनुपर्छ ।

प्रतिक्रिया