देउवा समूहका २८ सदस्यद्धारा राजीनामा

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा निकट नेविसंघका नवनियुक्त केन्द्रीय सदस्यले आज सामूहिक राजीनामा दिएका छन् ।

सभापति सुशील कोइरालालाई उहाँकै निवास महाराजगञ्जमा पुगेर देउवा समूहका २८ केन्द्रीय सदस्यले राजीनामा दिएको विद्यार्थी नेता ऋषिकेशजंग शाहले जानकारी दिए । दलबल सहित कोइराला निवास पुगेका केन्द्रीय सदस्यका तर्फबाट शाहले राजीनामा पत्र बुझाएर बाहिरिएका थिए ।

सभापति कोइरालाले नेविसंघको बिवाद हेर्न बनेको उपसमितिसँग छलफल गरेर समस्याको निकास खोज्ने आश्वासन दिएको शाहले बताए । महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा बलबहादुर केसी र शुरेन्द्र पाण्डे रहेको उपसमिति बनेको थियो । उपसमितिबाट देउवा निकटका पाण्डेले पनि यस अघि नै राजीनामा दिईसकेका छन् ।

सभापति कोइरालाले पार्टी एकीकरणको भावना विपरित नेविसंघ पुनर्गठन गरेको आरोप लगाउदै आफूहरुको समूहले सामूहिक राजीनामा दिएको शाहले बताए । उनले एक सय एक जनाको केन्द्रीय समितिमा आफूहरुलाई अल्पमतमा पारेको तथा ठूलो कार्यसमिति बनाएको आरोप लगाए ।

सामूहिक राजीनामा दिनेमा ऋषिकेशजंग शाह, दुरेन्द्र राई, बैकुण्ठ श्रीवास्तव, अञ्जन लामा, जमुना ढकाल, हरि भट्टराई, रोदन घिमिरे, टेकराज शाही, टेकराज भट्टराई, नारायण ढुङगाना, शिव बोहरा, इन्तीयाज आलम, गोकर्ण चन्द रहेका छन् ।

सभापति कोइरालाले रञ्जित कर्णको संयोजकत्वमा १ सय १ सदस्यीय महाधिवेशन समिति गठन गरेका थिए ।

त्यसै गरेर राजीनामा दिनेमा बद्री मुठभरी, सुदीप न्यौपाने, तिलबहादुर अधिकारी, यादवराज खड्का, उदयकान्त यादव, सन्तोष श्रेष्ठ, जितेन्द्र ठकुरी, जनक भट्ट, प्रकाश शाही, युवराज खड्का, शुरेन्द्र लौडारी, दीपक सोनी, विष्णु पौडेल, नारायण चौधरी, सुवासकुमार यादव रहेको राजीनामा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया