मकै किसान आन्दोलित

वीरगन्ज , ९ चैत । राहत र क्षतिपूर्तिको माग गर्दै बाराका मकैपीडित किसानले बिहीबार निजगढमा प्रदर्शन गरेका छन् ।
मकैपीडित किसान सङ्घर्ष समितिको अगुवाइमा पीडित किसानले निजगढस्थित पूर्वपश्चिम राजमार्गमा दिउँसो जुलुस प्रदर्शन गरेका हुन् । चारसूत्रीय  माग गर्दै पीडित किसानले गत सोमबार सिडिओ कार्यालयमार्फत सरकारलाई तीन दिनको अल्टिमेटम दिएका थिए । आफूहरुको माग सम्बोधनका लागि सरकारले कुनै वास्ता नगरेकाले विरोध प्रदर्शन गरिएको सङ्घर्ष समितिका संयोजक तेजप्रसाद गौतमले बताए । चारसूत्रीय मागमा क्षतिको विवरण सङ्कलन गरी पीडितलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, सरकारले समयमै गुणस्तरीय बीउ/बिजन र मलखादको व्यवस्था गर्नुपर्ने र कमसल बीउ बिक्री वितरण गर्ने कम्पनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने लगायतका छन् ।
पीडित किसानले शुक्रबारदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने घोषणा गरेका छन् । बाराका सिडिओ वीरेन्द्रकुमार यादवले भने आफूले किसानको मागका बारेमा सम्बन्धित मन्त्रालयमा जानकारी गराइसकेको बताए ।
बाराको मनहर्वा , डुमरवाना , निजगढ , फत्तेपुर , इनर्वासिरा , रतनपुरी , भरतगन्ज सिंगौल गाविसमा यो वर्ष लगाइएको मकैको  घोगामा दाना नलागेपछि किसानले क्षतिपूर्ति र राहतको माग गर्दै दुई सातादेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।  ती सबै गाविसमा गरी करिब एक हजार हेक्टर क्षेत्रफलको मकै खेतीमा समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
किसानले भारतीय कम्पनी सिड टेकको भी ९२ , एक्स ९२, पायोनियरको ०३४०४ र बिजुबिजु कम्पनीको सन्ध्या जातको हाइबि्रड मकैको बीउ रोपेका थिए । सबैभन्दा बढी  एक्स ९२ जातको बीउमा समस्या देखिएको छ । कृषि विकास कार्यालयका बाली विकास अधिकृत चन्द्रदेव मण्डलका अनुसार , कृषि विभागले सिफरिस नगरेको जातका बीउ लगाएका कारण समस्या देखिएको हो । दुई वर्षअघि पनि बारामा मकै खेतीमा यस्तै समस्या देखिएको थियो ।
यसैबीच   कृषि वैज्ञानिकको एक टोलीले बिहीबार  प्रभावित क्षेत्रमा स्थलगत  अनुसन्धान गरेको छ । मध्यमाञ्चल क्षेत्रीय कृृषि निर्देशनालय काठमाडौँका निर्देशक डिल्लीराम शर्माको नेतृत्वमा रहेको आठ सदस्यीय वैज्ञानिकको टोलीले समस्या देखिएको मकैबालीको अनुसन्धान गरेको हो । टोलीले निजगढका पीडित किसानको खेतमै पुगेर मकैबालीको स्थलगत अनुसन्धान गरेको छ । टोलीमा क्षेत्रीय बीउ बीजन प्रयोगशाला हेटाँैडाका धनञ्जय पन्जियार , राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवनका प्रमुख वरिष्ठ वैज्ञानिक केशवबाबु कोइराला पनि सहभागी थिए । टोली प्रमुख शर्माले अनुसन्धानको प्रतिवेदन एक साता पछि कृषि मन्त्रालयमा बुझाइने जानकारी दिए  ।

प्रतिक्रिया