सुपारीको मूल्य घट्यो


झापा, ७ चैत । वाषिर्क एक लाख मेटि्रक टन सुपारी आयत हुने गरेको छ । आव ०६६/०६७ मा ९५ हजार मेटि्रक टन सुपारी आयात भएको भन्सारले जनाएको  छ । तर, आव ०६७/०६८ मा भने १५ हजार मेटि्रक टन मात्रै सुपारी आयात भएको थियो ।
तेस्रो मुलकबाट सुपारी आयात बढेको शान्तिनगरका किसान लक्ष्मीप्रसाद चापागाईं बताउँछन् । उनका अनुसार विदेशबाट आउने सुपारी अवैध रूपमा भारत जाने भएकै कारण मूल्य घटेको हो । प्रशोधन प्रविधिको अभावमा झापाका सुपारीले इन्डोनेसियाबाट आउने राम्रो र सस्तो सिङ्गापुरे सुपारीसँग प्रतिस्पर्धा गर्न नसकेका कारण किसानले उचित मूल्य पाउन नसकेको जिल्ला सुपारी सङ्घका अध्यक्ष ज्ञाननाथ पौडेल बताउँछन् ।
उनका अनुसार नयाँ प्रविधि अपनाउन सकेमा नेपाली सुपारीका लागि बजारीकरणको खासै समस्या हुँदैन । सुपारी खेतीको व्यावसायिकीकरणका लागि  सरकारले चासो नदिएको आरोप उनको छ ।
झापाको बुधबारेमा सहकारीमार्फत सुपारी प्रशोधन गर्न थालेयता किसानले पहिलेभन्दा बढी मूल्य पाए पनि चित्त बुझाउन सक्ने अवस्था नरहको अध्यक्ष पौडेल बताउँछन् ।
व्यापारीले प्रतिकिलो छ रुपियाँमा खरिद गर्दै आएको सुपारी सहकारीले अहिले १४ रुपियाँमा किन्दै आएको छ । यसअघि किसानले अनुमानित तौलका आधारमा भारतीय व्यापारीलाई सुपारी बेच्ने गर्थे । पहिले प्रतिकिलो तीन रुपियाँका दरले सुपारी बेचेको अर्का किसान विष्णुकान्त अधिकारी बताउँछन् ।
जिल्लामा करिब २० हजार किसान सुपारी खेतीमा संलग्न छन् । नेपाल सुपारी खेती विकास संस्थाका अनुसार झापाको तीन हजार पाँच सय हेक्टरमा सुपारी खेती हुन्छ । झापाको बाहुनडाँगी, शान्तिनगर, शनिश्चरे, खुदुनाबारी, बुधबारे, अर्जुनधारा र मेचीनगरमा सबैभन्दा बढी सुपारी खेती हुने गर्छ । हाल झापामा १० देखि १५ हजार मेटि्रक टन सुपारी उत्पादन हुने गरेको अनुमान      छ ।

प्रतिक्रिया