वाणिज्य बैंकको विज्ञापन खर्चमा ७५ प्रतिशतसम्म वृद्धि

काठमाडौँ, ७ चैत । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेप सङ्कलन गर्नका लागि विज्ञापन खर्चमा भारी वृद्धि गरेका थिए । गत वर्ष वित्तीय क्षेत्रमा छाएको तरलता समस्याका कारण निक्षेपकर्ता आकषिर्त गर्न बैंकहरूले विज्ञापन खर्चमा अघिल्लो आवका तुलनामा ७५ प्रतिशतसम्म वृद्धि गरेका हुन् ।
गत आवमा अत्यधिक प्रतिशतमा विज्ञापन खर्च बढाउने वाणिज्य बैंकहरूमा प्राइम कमर्सियल बैंक, नेपाल इन्डस्टि्रयल एन्ड कमर्स बैंक, डिसिबिएल, लुम्बिनी, एनएमबी, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी, नेपाल एसबिआई, सिद्धार्थ, एभरेस्ट र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् । गत वर्ष प्राइम कमर्सियल बैंकले ७२ प्रतिशत, नेपाल इन्डस्टि्रयल एन्ड कमर्स बैंकले ५७, डिसिबिएलले ५४, लुम्बिनीले ५१, एनएमबीले ४७, सिटिजन्सले ३१ प्रतिशत विज्ञापन खर्चमा वृद्धि गरेका छन् ।
‘गत वर्ष कर्पोरेट ब्रान्डिङका लागि धेरै विज्ञापन गरिएकाले खर्च बढेको हो,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । त्यसैगरी शाखा विस्तार हुँदा पनि बजार प्रवर्द्धनका लागि विज्ञापनमा अत्यधिक खर्च गरिएको उनले बताए । ‘निक्षेप सङ्कलनमा कमी आएपछि कतिपय बैंकहरूले नयाँनयाँ सेवा थपेर विज्ञापन गरेकाले पनि विज्ञापन खर्च बढेको हो,’ उनले थपे । चरम तरलता अभावका कारण बैंकहरूले गत आवमा निक्षेपकर्ता आकषिर्त गर्न अत्यधिक ब्याज दिएर भारीमात्रामा विज्ञापन प्रकाशित गरेका थिए । आव ०६७।०६८ मा सौर्यले सङ्कलन गरेका २५ वाणिज्य बैंकहरूले विज्ञापन खर्चस्वरूप २५ करोड ७३ लाख रुपियाँ खर्च गरेका छन् । आव ०६६।०६७ मा ती बैंकहरूले २३ करोड ४२ लाख रुपियाँ बराबरको विज्ञापन खर्च गरेका थिए ।
वाणिज्य बैंकहरूले गत आवमा पाँच लाखँदेखि तीन करोड ८४ लाख रुपियाँसम्म विज्ञापनबापत खर्च गरेका छन् । गत वर्ष विज्ञापन खर्चस्वरूप एक करोडभन्दा बढी खर्च गर्ने वाणिज्य बैंकहरू नै १० वटाभन्दा बढी रहेका छन् । गत वर्ष सबैभन्दा बढी हिमालयन बैंकले तीन करोड ८४ लाख रुपियाँ विज्ञापन खर्च स्वरूप खर्च गरेका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, बैंक अफ काठमाडौँ, नबिल बैंक, एनएमबी बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र लक्ष्मी बैंकले गत वर्ष एक करोड रुपियाँभन्दा बढी विज्ञापनमा खर्च गरेका छन् । त्यसमा नेपाल इन्भेस्टमेन्ट बैंकले तीन करोड १८ लाख, एभरेस्ट बैंकले दुई करोड तीन लाख, बैंक अफ काठमाडौँले एक करोड ९६ लाख, नबिल बैंकले एक करोड ६७ लाख, एनएमबी बैंकले एक करोड ४५ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले एक करोड ३० लाख, कुमारी बैंकले एक करोड १४ लाख र लक्ष्मी बैंकले एक करोड १२ लाख रुपियाँ खर्च गरेका छन् ।
कुल २५ वाणिज्य बैंकमध्ये विज्ञापन खर्च बढाउने एनएमबी बैंक, नेपाल इन्डस्टि्रयल एन्ड कमर्स बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी, डिसिबिएल, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, प्राइम कमर्सियल, जनता, हिमालयन, नेपाल एसबिआई र सिद्धार्थ बैंकले अघिल्लो आवका तुलनामा गत आवमा विज्ञापन खर्चमा वृद्धि गरेका छन् । स्थापित भइसकेका वाणिज्य बैंकहरूले भने चरम तरलता अभावको समयमा पनि विज्ञापन खर्च वृद्धि गरेका छैनन् । स्टयान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, बैंक अफ काठमाडौँजस्ता बैंकहरूको भने विज्ञापन खर्चमा कमी आएको छ । सनराइज र ग्लोबल निक्षेपमा समस्या परेका बैंकहरूले पनि विज्ञापन खर्चमा कटौती गरेका छन् ।
बैंकर्स सङ्घमा पदाधिकारी निर्विरोध
वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको उपाध्यक्षमा सिटिजन्स बैंकका राजनसिंह भण्डारी र एनएमबी बैंकका उपेन्द्र पौडेल निर्विरोध भएका छन् ।
शुक्रबार निर्वाचन हुने कार्यक्रम तय गरी मङ्गलबार रातिसम्म उम्मेद्वार घोषणा गर्ने कार्यक्रम रहेकामा सहमतिमा उम्मेद्वारी दर्ता गरिएपछि उपाध्यक्षका उम्मेद्वारद्वय भण्डारी र पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा नबिल बैंकका अनिल ज्ञवाली, किस्ट बैंकका कमल ज्ञवाली, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्टयान्डर्ड चार्टर्ड बैंकका जोसेफ सिल्भानेज, सिभिल बैंकका किशोर महर्जन, सेन्चुरी बैंकका गणेशकुमार श्रेष्ठ र जनता बैंकका विजय पन्त निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घमा हरेक वर्ष निर्वाचन हुने प्रावधान रहेको छ । विधानअनुसार दुई बर्से कार्यकालका लागि हुने निर्वाचनमा पहिलो वर्ष अध्यक्ष र अर्को वर्ष बाँकी पदाधिकारीको निर्वाचन हुने गर्दछ । गत वर्ष अध्यक्षका लागि भएको निर्वाचनमा एनआइसी बैंकका ससिन जोशी हिमालयन बैंकका अशोक शमशेर राणाबाट पराजित भएका थिए । बैंकर्स सङ्घको विधानअनुसार एउटै पदमा दुई कार्यकाल चलाइसकेकाले सोही पदमा चुनाव लड्न पाउँदैन । यसअनुसार एभरेस्टका पिके मोहपात्र, लक्ष्मीका सुमन जोशी र एस डेभलोप्मेन्ट बैंकका सिद्धान्तराज पाण्डे नयाँ कार्यसमितिमा सदस्य हुन पाउँदैनन् ।

प्रतिक्रिया