घर मालिकको कुटाइबाट घरेलु कामदार घाइते

काठमाडौ, ७ चैत । घरमालिकको कुटाइबाट घाइते भएकी एक किशोरीलाई प्रहरीले घरमालिककै दाइको जिम्मा लगाएको छ । ललितपुरको इमाडोल–३ का धन कार्कीले घरेलु कामदारका रूपमा राखेकी १५ वर्षीया सुजाता अधिकारीलाई चार दिनअघि रगताम्मे हुने गरी कुटेकी थिइन् । पीडित अधिकारीलाई धनले ४० हजार रुपिया“को प्रलोभन दिएपछि महानगरीय प्रहरी प्रभाग इमाडोलले मङ्गलबार धनका दाजु इशुजङ्ग कार्कीलाई जिम्मा लगाएको हो ।
पानी लिन धारामा जाने क्रममा छिमेकीले अधिकारीको निधार, कान र हातबाट रगत बगेको देखेपछि कुटिएको रहस्य खुलेको थियो । उनलाई तत्काल छिमेकी महिलाहरूले उद्धार गरेका थिए । ‘बोल्नै नसक्ने अवस्थामा पुगेकी अधिकारीको हातका औलाबाट रगत बगेको देखेपछि के भएको भनी सोध्यौ“, हेर्दै जादा अनुहारभर चिथोरिएको पायौ, कपालबाट पनि रगत बगिरहेको थियो,’ प्रत्यक्षदर्शी भवानी थापाले सौर्यसग भनिन् ।
उद्धारकार्यमा खटिएकी उनले भनिन्, ‘पटक–पटक पिटेको देखियो, सहनै नसक्ने भएपछि मात्रै हामीले उद्धार गरेका हौ ।’ उनीस“गै उद्धारमा खटिएकी अर्की महिलाका अनुसार शिक्षिकासमेत रहेकी कार्कीले अधिकारीलाई खानसमेत राम्रो दि“दैनथिइन् । ती महिलाले भनिन्, ‘मालिकनीले बालिकालाई कुकुरको खानासमेत दिने गर्थिन् ।’ उनका अनुसार मालिकनीले किशोरीलाई सुस्तःमनस्थितिको भन्दै दैनिक काममा पेल्ने गर्थिन् ।
विगत दुई वर्षदेखि कामदारका रूपमा बस्दै आएकी अधिकारीलाई सुनसरीको इटहरीबाट पढाउने भनेर उनले ल्याएकी थिइन् । छिमेकीका अनुसार अधिकारीभन्दा अघि काम गर्ने बालिकालाई पनि धनले यातना दिने गर्थिन् । उनले भनिन्, ‘ती बालिकालाई पनि कपाल भुत्लाएको दृश्य दैनिकजसो देखिन्थ्यो ।’
पीडकका आरोपी कार्कीले अधिकारीलाई आफूले सामान्य हातपात गरेको स्वीकार गर्दै रगताम्मे हुने गरी कुटपिट नगरेको दाबी गरिन् ।

सूचना लुकाउदै प्रहरीद्वारा पत्रकारलाई धम्की
प्रभागका सई विजय तिमल्सिनाले भने घटनाको कुनै विवरण सार्वजनिक गर्न चाहेनन् । ती बालिकाको बारेमा जिज्ञासा राख्दा कड्किदै उनले ‘अनावश्यक चासो नराख्न’ आदेश दिए । समाचारका लागि सामान्य विवरण माग गर्दा पनि उनले धम्कीपूर्ण भाषामा भने, ‘म तपाईंलाई केही विवरण दिन्न, जे लेख्नुहुन्छ लेख्नुहोस्, मलाई केही फरक पर्दैन ।’
उनले धम्की दिइरहेका बेला केही युवाले पनि सईको बोलीमा सही थाप्दै घटनाबारे अनावश्यक चासो नराख्न चेतावनी दिए । ‘बालिकालाई आफूले उद्धार गरेको हु’ भन्दै अर्का एक युवा सईकै सामु जङ्गिए, ‘बच्चा बलात्कृत भएको हो भने पनि तपाईंलाई के चासो ?’
निकैबेरको आग्रहपछि मात्र सई तिमल्सिनाले पीडित बालिकाको नाम र उमेर बताएका थिए । उनले घटनाको जानकारी लिन प्रहरी प्रभाग पुगेका केन्द्रीय बाल कल्याण समितिका प्रतिनिधि र सिविस नेपालका प्रतिनिधिलाई समेत कुनै विवरण दिएनन् । विवरण माग्दा उनले व्यङ्ग्य गर्दै भने, ‘तपाईंहरू डलर खाने, हामी जागिर, तपाईंहरूस“ग के कुरा गर्नु ?’

प्रतिक्रिया