चिट चोराउन बझाङमा ढुङ्गामुढा

कैलाली, ७ चैत । एसएलएसी परीक्षामा सुदूरपश्चिम एक आध घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ ।

नौ वटा जिल्लामा रहेका १ सय ७५ वटा परीक्षा केन्द्र मध्ये बझाङको सदरमुकाममा रहेको सत्यवादी उमावि केन्द्रमा चिट चोराउन गएकाहरुले प्रहरीहरुले चिट पास गर्न नदिएको भन्दै दुई पटक ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चोराउन नपाएको झोकमा परीक्षार्थीका अभिभावकहरुले परीक्षा सुरु भएको डेढ घण्टा पछि परीक्षा केन्द्रमा ढुङ्गामुढा प्रहार गरेको केन्द्राध्यक्ष रामदत्त उपाध्यायले बताए ।

ढुङ्गामुढा प्रहारबाट परीक्षा दिइरहेकी निर्मला खड्का सामन्य घाइते भएकी छन् । ढुङ्गामुढाका कारण केहीबेर परीक्षा केन्द्रको वातावरण बिग्रीए पनि पछि थप प्रहरी परिचालन गरी वातावरण सहज बनाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए ।

विहानै परीक्षा केन्द्र वरिपरी ठूलो संख्यामा चिट चोराउनेहरुको भीड लागेको थियो । प्रहरीको उच्च सर्तकर्ताका कारण कुनै अप्रिय घटना हुन भने पाएन् । मङ्गलबारको परीक्षा शान्त तथा मर्यादित वातावरण सम्पन्न भएको क्षेत्रीय शिक्षा निर्देशक गोविन्ददेव भट्टले बताए ।

प्रतिक्रिया