ग्रिड कार्यालयमा धर्ना

विराटनगर, ६ चैत । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सहज विद्युत् आपूर्ति गराउनुपर्ने मागसहित उद्योगी व्यवसायीले
ग्रिड कार्यालयमा धर्ना दिएका छन् ।
भारतको कटैयाबाट आयात हुँदै आएको ६५ मेगावाट र थप हुने २५ मेगावाट बिजुली पूर्वक्षेत्रमा मात्रै वितरण गर्नुपर्ने मागसहित धर्ना दिएको मोरङ व्यापार सङ्घका अध्यक्ष अविनाश बोहोराले बताए । उनका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।
विद्युत् प्राधिकरणले ठूला उद्योगलाई नियमित विद्युत् दिइरहे पनि साना उद्योगलाई बेवास्ता गरेको उनीहरूको आरोप छ । सरकारले भारतबाट आयात गर्नलागेको थप २५ मेगावाट बिजुली पनि पूर्वक्षेत्रमा वितरण गर्न चासो नदेखाएको आरोप पनि उनीहरूको छ ।
विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार सुनसरी–मोरङ करिडोरमा दैनिक एकसय ४० मेगावाट विद्युत् आवश्यकता पर्छ । तर, आपूर्ति भने ५० मेगावाटमात्रै छ । ६ दिनअघि मात्रै उद्योगी व्यवासायीले विद्युत् आपूर्ति सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ र सर्वदलीय संयन्त्रमार्फत पहल गर्ने निर्णय गराएका थिए ।

प्रतिक्रिया