३० सहकारीलाई खारेज गर्ने तयारी

काभ्रे, ६ चैत । डिभिजन सहकारी कार्यालय काभ्रेले ३० सहकारीलाई खारेज गर्ने भएको छ । सहकारी दर्ता गरेर लामो समयसम्म कारोबार नगरेको तथा कार्यालयका बारेमा कुनै जानकारी उपलब्ध नगराएको भन्दै डिभिजन सहकारी कार्यालयले सोमबार खारेजीको सूचना सार्वजनिक गरेको छ ।
पहिलो चरणमा जिल्लाका ३० सहकारीलाई चेतावनीसहित ३५ दिने सूचना प्रकाशित गरी कारबाही प्रक्रिया अगाडि बढाएको डिभिजन सहकारी काभ्रेका प्रमुख राजेन्द्र पौड्यालले बताए । खारेजीको सूचीमा परेका सहकारीमध्ये २७ वटा दुग्ध उत्पादक सहकारी मात्रै रहेका छन् । एउटै गाविसका तीन दुग्ध उत्पादक सहकारी खारेजीको सूचीमा परेका छन् । खारेजीमा पर्ने तीन सहकारीमा मिलीजुली, रातामाटे महिला सहकारी र अरुणोदय बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
काभ्रेमा एक हजार एक सय ४४ मध्ये सातवटा सहकारी एकीकरण भइसकेका छन् ।
सहकारीलाई व्यवस्थित गर्न, विश्वसनीय बनाउन, खुल्न नसकेका गाविसमा सहकारी स्थापना गर्न र धेरै भएका स्थानमा एकीकरण गर्न अभियान सुरु गरिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष शुभ अधिकारीले बताए ।

सङ्घमा ताला

काठमाडौँ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ (प्रस्तावित) ले सोमबार राष्ट्रिय सहकारी सङ्घमा ताला लगाएको छ । सङ्घ दर्तामा वास्ता नगरेको भन्दै उनीहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार ताला लगाएका हुन् ।
सोमबार सङ्घका अध्यक्षलगायत केही सञ्चालक र बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घका प्रतिनिधिबीच भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको छ । ‘सङ्घले नै दर्ता रोकेको हो,’ प्रस्तावित उक्त सङ्घ तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले भने, ‘दर्ताको टुङ्गो नलागेसम्म हामी ताला खोल्दैनौँ ।’ सङ्घ दर्ता गर्न हुने या नहुने धारण प्रस्तुत गरे त्यहीअनुसार बढ्ने पनि उनले बताए ।
२६ फागुनमा सम्पन्न बृहत् भेलाले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सङ्घ दर्ता गर्न हुँदैन भन्नेमा ११ केन्द्रीय सहकारी सङ्घ लागेका छन् । सहकारी विभागको नागरिक वडापत्रमा कुनै पनि सङ्घ÷संस्था दर्ता गर्न ल्याएको फाइल प्रक्रिया पूरा भए–नभए वा दर्ता हुने या नहुने निर्णय १५ दिनभित्र दिनुपर्ने भए पनि सङ्घले फाइल पेस गरेको ६ महिना बितिसक्दा समेत दर्ता अन्योलमै छ ।  सङ्घ दर्ता गर्ने वा नगर्ने भन्ने सम्पूर्ण अधिकार रजिस्ट्रारसँग भए पनि उनले आफ्नो अधिकारसमेत कार्यान्वयन गर्न सकेका छैनन् । सङ्घ दर्ता गरिनुपर्नेमा सहकारी विभागका रजिस्ट्रार सुर्दशनप्रसाद ढकाल पनि सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया