सिमेन्टमा भारतको भर

बेथलिया (रूपन्देही), ६ चैत । ३० लाख टन सिमेन्टको माग रहेकामा १२ लाख टन सिमेन्ट नेपालमै उपलब्ध क्लिङ्कर प्रयोगद्वारा उत्पादन हुने गरेको छ । बाँकी १२ लाख भारतीय क्लिङ्करबाट र ६ लाख टन सिमेन्ट भारतबाटै आयात हुने गरेको छ ।
अर्घाखाँची सिमेन्ट प्रालिका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष पशुपति मुरारकाले दुई लाख ७० हजार टन क्लिङ्करले उत्पादन गर्नेगरेको बताए । घोराही सिमेन्ट र सोनापुर सिमेन्ट आगामी ६ महिनामा सञ्चालनमा आउने जानकारी पनि उनले दिए । ती दुई कम्पनीको उत्पादन बजारमा आउन थालेपछि नेपाली सिमेन्ट उद्योग र क्लिङ्करका लागि नेपाल आत्मनिर्भर हुने उपाध्यक्ष मुरारकाको दाबी छ ।
एक करोड ६० लाख रुपियाँमा निर्मित सो उद्योगले नेपाली सिमेन्ट उद्योगको क्लिङ्कर मागको १५ प्रतिशत आपूर्ति गरिरहेको उनको भनाइ छ । उद्योगको उत्पादनले दुई सय ५० करोड भारतीय रुपियाँ बचत हुने गरेको उनले बताए । नेपालमा सिमेन्ट उद्योगका लागि २० लाख टन क्लिङ्करको माग रहेको छ ।
अर्घाखाँची सिमेन्टमा मुरारका, सिद्धार्थ र केडियो समूहको संयुक्त लगानी रहेको छ । सो कम्पनीको क्लिङ्कर मुरारका समूहको सुप्रिम सिमेन्ट, सिद्धार्थ समूहको सिद्धार्थ सिमेन्ट र केडिया समूहको ब्रिज सिमेन्ट उत्पादनमा नै प्रयोग हुने गरेको छ । संस्थापक समूहका सिमेन्ट कम्पनीका अतिरिक्त कम्पनीले अग्नि, जगदम्बा, अम्बुजाजस्ता सिमेन्ट कम्पनीहरूलाई पनि क्लिङ्कर बिक्री गर्ने गरेको छ ।
निजी क्षेत्रबाट क्लिङ्कर उत्पादन गर्ने अर्घाखाँची नै पहिलो कम्पनी रहेको उनले बताए । यसअघि उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टले पनि क्लिङ्करको आफैँ उत्पादन गरी सिमेन्ट निर्माण गर्ने गरेका थिए ।
दुई सय ६० रोपनी जग्गामा फैलिएको उद्योगले युनिट टु प्लान्ट जडान गरेर आफ्नो क्षमतालाई पाँच लाख ४० हजार टनसम्म पुर्‍याउन मिल्ने गरी उद्योग सञ्चालनमा ल्याएको छ । युनिट टुसमेत सञ्चालनमा ल्याउँदा कम्पनीको लागत दुई सय करोड रुपियाँ पुग्ने सञ्चालक मुरारकाले बताए ।
कम्पनीले अर्घाखाँचीको नरपानी र पाल्पाको दोभानस्थित खानीबाट चुनढुङ्गा ल्याएर क्लिङ्कर उत्पादन गर्ने गरेको छ । नरपानी क्षेत्रको चुनढुङ्गा उठाउने कार्य विगत ६ महिनादेखि स्थानीय बासिन्दाको अवरोधका कारण बन्द छ । उद्योगले पाल्पाबाट ल्याएको चुनढुङ्गा प्रयोग गरी क्लिङ्कर उत्पादन गर्दै आइरहेको छ । उद्योगसँग ६ महिनालाई चाहिने कच्चा पदार्थ भण्डारमा रहेको छ । यदि अर्को ६ महिनासम्म पनि नरपानीका जनताले चुनढुङ्गा ओसारपसारमा अवरोध गरे उद्योग नै बन्द हुने अवस्थामा रहेको सञ्चालक मुरारकाले बताए । यो उद्योगमा नबिल बैंकको नेतृत्वमा नेपाल बैंक र स्ट्यान्डर्ड फाइनान्सले लगानी गरेका छन् ।
सरकारसँग नरपानी क्षेत्रका आठ वर्ग किमी क्षेत्रफलमा चुनढुङ्गा निकालेर ३० वर्षसम्म प्रयोगमा ल्याउन पाउने सम्झौता गरे पनि स्थानीयवासीले अवरोध गरेका कारण ६ वर्ष नपुग्दै चुनढुङ्गा ओसारपसार बन्द गर्नुपरेको मुरारकाले बताए ।

प्रतिक्रिया