गुटउपगुट अन्त्य गर्छौः माओवादी

काठमाडौं, ६ चैत । वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार गिराउन सडक संघर्षमा उत्रिएपछि अन्यौलमा परेको एकीकृत माओवादीको संस्थापन पक्षले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्ने निष्कर्षमा पुगेको छ । गुटउपगुट अन्त्यका लागि संस्थापन पक्षले बैद्य समूहसँग परामर्श गर्ने निर्णय समेत गरेको छ ।

ललितपुरमा आज भएको माओवादी संस्थापान पक्षको भेलाले अन्तरसंघर्षलाई जायज भएको निष्कर्ष निकालेको प्रवक्ता दीनानाथ शर्माले बताए । उनले भने, ‘गुट उपगुटको अन्त्य गर्नुपर्ने निर्णय भएको छ ।’

संस्थापन पक्षले बैचारिक संघर्ष जारी राख्ने समेत जनाएको छ । पार्टीभित्रको संकट र आगामी रणनीति तय गर्ने बहानामा संस्थापन पक्षले झण्डै एक सय केन्द्रीय सदस्यलाई एक होटेलमा बोलाएको थियो । भेलामा बैद्य समूहलाई बोलाएपनि नआएको संस्थापन पक्षको दाबी छ ।

भेलाले पार्टी भित्रको गुट उपगुट घातक हुने निष्कर्ष निकालेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले बैद्य समूहलाई आन्दोलनका बारेमा स्पष्टिकरण सोध्न माग गरेका थिए ।

संस्थापन पक्षले असन्तुष्ट बैद्य समूहलाई शान्ति र संविधानको पक्षमा उभिन आग्रह गरेको छ । शान्ति र संविाधन वा जनविद्रोह मध्ये कुन कित्तामा उभिने भनेर स्पस्ट गर्न संस्थापन पक्षले बैद्य समूहलाई आग्रह गरेको छ । भेलामा पदाधिकारी र स्थायी समिति सदस्यहरुले मात्रै धारणा राखेका थिए ।

बैद्य पक्षको आन्दोलन पछि रणनीति तयार पार्न अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईसहित संस्थापन पक्षका स्थायी समिति, पोलिटव्यूरो तथा केन्द्रीय सदस्यहरुको छुट्टै छलफल भएको हो ।

वैद्य पक्षले थालेको आन्दोलन पार्टी हित र निर्णय विपरित रहेको आरोप लगाउदै भेलाले संस्थापन पक्षले असन्तुष्ट पक्षलाई कसरी समेट्ने भन्ने विषयमा रणनीति तयार बनाउने प्रवक्ता शर्माले बताए ।

बैद्य समूहले पार्टीको संस्थापन पक्ष र सरकारविरुद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि माओवादीभित्रको विवाद चुलिएको थियो ।

प्रतिक्रिया