कमरेडको चेक फिर्ता !

‘सरी कमरेड, त्यतिखेर माथिको आदेश थियो, त्यसैले हामीले चेक खोस्यौँ,’ कमरेड घुर्कीले हात मिलाउँदै खोसिएको चेक कमरेड खोस्टालाई दिए र एकपटक स्वादिलो सेल्युट मारे । कमरेड खोस्टाले भने, ‘पहिला कानमा खुसुक्क भनेको भए दिन्थ्यौँ नि कमरेड, छापामार शैलीमा आउनुभयो ।’
‘हामीले पनि मिडियामा नै भन्नुपर्‍यो, नभनेर के गर्ने, चेकमात्र खोसिएन नाकका डाँडी भाँचिएर चिउँडो भिज्यो आफ्नै खुनले,’ कमरेड खोस्टाले विगत उग्राए । ‘लौ त कमरेड अरूको पनि चेक फिर्ता गर्नु छ, अहिले म माख्लो शिविरतिर लागे,’ बिदा माग्दै कमरेड घुर्की हिँडे ।  चेक खोसिएका लडाकुको चेहरामा एकाएक आठ घन्टा लोडसेडिङपछि आएको बिजुलीले चम्केको सिएफएल चिमझैँ उज्यालो छाइरहेको थियो । शिविरबाट घर जानेबेला पिटाइ र जिउभरि बिबिरामात्रै हुने भो भनेर चिन्तित कमरेडलाई एकाएक सेल्युट मार्दै चेक फिर्ता गरिएपछि खुसी नहुने कुरै भएन । कमरेडहरू ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत नै गल्ती लेखियो कि भनेर बहस गर्न थालिसकेका थिए । किनभने आज गरिबको हातमा खोसिएको चेक आएको थियो । चेकसँगै केही दिनअघि मात्र सहिद भएका सपना पनि एकाएक ब्युँतेर फेरि कमरेडहरू रक्तिम अनुहारमा रुमल्लिने प्रयासमा थिए ।
‘मैले त हेटौँडामा घडेरी किन्ने भएँ नि,’ कमरेड खरेटोले जुफाललाई फोन गर्दै भने, ‘चेक फिर्ता भयो, अब यो पैसाले हेटौँडामा घडेरी किनेर बस्नु पर्छ ।’ खरेटोको कुरा मनासिव लाग्यो जुफाललाई पनि र भने, ‘कमरेड त्यो फास्ट ट्रयाकको छेउछाउमा हेर्नुस् न म पनि त्यतै सोच्दै छु ।’ कमरेड जुफालले पनि चेक फिर्ता पाएपछि हेटौँडामै घडेरी जोड्ने सुर कसिहाले । कमरेडहरू फोनमा निकै गफिन थाले । सबका सपना एकाएक हावाको झोक्काले फिरफिर पारिएका बुख्याँचाझैँ सक्रिय भएका देखिन्थे ।
बुख्याँचा होइन, हावाको झोक्काले झुक्याइरहेको थाहै हुन्थेन धेरैलाई ।
‘मैले त बैंकमै राखेँ,’ अब गाविस अध्यक्ष पनि उठ्नु पर्छ । त्यतिखेर खर्च चाहिन्छ । कमरेड खिनौरीले अर्को सपना सुनाइन् । उनले भनिन्, ‘यसपटक महिला पनि गाविस अध्यक्ष हुन्छ भलायोखर्कमा ।’ चेक फिर्तासँगै हजार सपना बौरिएर उठेका छन् बाइबलमा प्रभू येशु बौरिएर उठेको कथा जस्तै । मुजा परेका अनुहार र धुजा भएका जीवनमा खोसिएको चेकले बनाएको घाउको खाटा यसरी पुरिएको छ कि माटोमा अलकत्रा पोतेर टल्काइएको दक्षिणकाली–हेटौँडा सडकजस्तै टिलिक्क टल्किएको छ । सबै कमरेड सपनाको पन्तरो फुकाएर चेक फिर्ता हुनु देशमा गणतन्त्र धपक्कै बल्नु हो भनेजसरी नाचिरहेका छन् ।
‘कमरेड, त्यो खयरको ठेक्का लिऊँ हामी । सुरु यसबाट गरौँ, पछि रक्तचन्दन पनि आँट्नु पर्छ,’ कमरेड बजरङ्गले अजङ्गको प्रस्ताव राखे । ‘आखिर फिर्ता भएको चेक साटेको पैसा कमाइ हुने ठाउँमै लगानी गर्नुप¥यो,’ उनले भने, ‘तपाईँ पनि पार्टनर बन्नुस्, अहिले घडेरीको भाउ छैन, बजारमा काठको कारोबारमा पैसा छ ।’ कमरेड खोस्टालाई पार्टनरको प्रस्ताव पनि आयो । उनले परिवारसँग सल्लाह गरेर टुङ्गोमा पुग्ने बताए ।
‘संसार के रहेछ र ?’ जे रहेछ, यही चेक रहेछ । त्यही भएर त खोसिएछ । चेकसँगै जीवनका खुसी पनि फिर्ता भए । चेक साटिएपछि सबथोक हुन्छ । कमरेड खोस्टा टोलाउन थाले । ‘यो पैसाले के गरौँ ? कतै लगानी गरौँ कि, घडेरी जोडौँ कि, छोराछोरीलाई पढाउँ कि । केही त गर्नै प¥यो । बहिनीको बिहे गरौँ कि ? आफ्नो उर्वर वसन्त जङ्गलमा धस्रिएर हिँडे पनि बालबच्चाका लागि के गरौँ ?’ कमरेड खोस्टाको मन थिरमा आउन सकिरहेको थिएन । ‘उठ्ने बेला भएन, लिनुस् चिया,’ बहिनी कमरेडले निद्रा भताभुङ्ग पारिदिइिन् । कमरेड खोस्टा झल्याँस्स भए । बहिनी हातमा चिया लिएर उभिइरहेकी थिइन् ।
टिभीमा राज्य समिति सदस्य कमरेड प्रकाशको पत्रकार सम्मेलनको समाचार आइरहेको थियो । उनी भन्दै थिए, ‘शान्ति र संविधानका लागि हामी सगरमाथा नचढी छाड्दैनौँ तर राज्यले दिएको दुई करोड रुपियाँ फिर्ता गरिदिन्छौँ ।’ पत्रकारहरू अनेक प्रश्न सोध्दै थिए कमरेडलाई । कमरेड प्रकाशले पो नलिएको रकम फिर्ता दिएका रहेछन् । हाम्रो खोसिएको चेक कहाँ फिर्ता भएको रहेछ र ? कमरेड खोस्टा बर्बराउँदै थिए । बहिनी कमरेडले भनिन्, ‘उनले त लिँदै नलिएको रकम पो फिर्ता गरेको । तपाइँहरूले त दिइसकेको चेक फिर्ता हुन्छ र ?’ कमरेड खोस्टासँग जवाफ थिएन । सपनामा मात्र भए पनि केहीबेर रत्तिन पाएकोमा खुसी थिए, एकपटक कमरेड घुर्कीले मारेको सेल्युट सम्झिए र चिया हातमा लिएर समाचार हेर्न कुर्सीमा बसे । झ्याप्प लाइन गयो । टाउको कन्याउँदै कमरेड खोस्टा बाहिर निस्किए ।

प्रतिक्रिया