जाँड धोकेका मन्त्रीले पत्रकार कुटे

काठमाडौँ, ५ चैत । रक्सीले मातेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आइतबार राति वीर अस्पतालभित्र वितण्डा मच्चाएका छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तलाई गालीगलौज र दुव्र्यवहार गरे भने समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई हातपात नै गरे ।
रक्सीले टिल्ल भएका राज्यमन्त्री यादव राति साढे आठ बजे दलबलसहित उपचाररत आफ्नी सासूलाई भेट्न भन्दै अस्पताल पुगेका थिए । आकस्मिक कक्षको गेटमा खटिएका सुरक्षा गार्डलाई गालीगलौज गर्दै भित्र छिरेका उनले करिब ४५ मिनेट वितण्डा मच्चाए । ‘आकस्मिक कक्षमा प्रवेश गर्नेबित्तिकै मन्त्रीले तथानाम गाली गर्न थाले,’ ड्युटीमा रहेकी डा. विनिता जोशीले भनिन् ।
डा. जोशीले ‘अहिले यहाँ हेर्ने मै हुँ’ भनेर जवाफ दिएपछि राज्यमन्त्री यादव थप कड्किए । उनले १५ मिनेटभित्र उपकुलपति, रजिस्ट्रार, निर्देशक सबैलाई उपस्थित नगराए जागिर खानेसम्मको धम्की दिए । ‘यहाँका उपकुलपति, रजिस्ट्रार, निर्देशकलगायत सिनियर कर्मचारीलाई फोन गर, १५ मिनेटभित्र उपस्थित नभए सबैलाई लात हानेर निकालिदिन्छु भनेर धम्क्याए,’ डा. जोशीले भनिन् । विभागीय मन्त्रीको धम्कीबाट तर्सिएका कर्मचारीले तुरुन्तै अस्पतालका पदाधिकारीलाई फोन गरे । तर, फोन लागेन । अस्पतालबाट फोन नलागेपछि यादवले आफ्ना सहयोगीलाई फोन गर्न अह्राए । उनीहरूले गरेको फोन पनि नलागेको प्रत्यक्षदर्शी कर्मचारीले बताए । त्यसपछि राज्यमन्त्री यादव अस्पतालको कर्मचारी सङ्गठनका पदाधिकारीमाथि जाइलागे । ‘तिमीहरूलाई पनि लात हानेर अस्पतालबाट निकाल्छु, सबै बिगार्ने यस्ता युनियनको काम छैन,’ राज्यमन्त्री यादवको भनाइ उद्धृत गर्दै कर्मचारी युनियनका सचिव दीपक मुडभरीले भने ।
युनियनका सहसचिव नवराज धितालका अनुसार राज्यमन्त्री र उनका सहयोगीले चिकित्सक, कर्मचारी, बिरामी र बिरामीका कुरुवालाई पनि आमाचकारी गाली गरे । ‘मन्त्रीजस्तो व्यक्तिले अस्पतालको आकस्मिक कक्षमा आएर तथानाम गाली गर्नु लाजमर्दो कुरा हो,’ धितालले भने ।
न्युरोसम्बन्धी समस्या भएकी ५५ वर्षीया राजकुमारी देवीलाई राज्यमन्त्री यादवले आफ्नी सासू बताइरहेका थिए । आकस्मिक कक्षमा बेड खाली नभएपछि वैकल्पिक बेडमा सुताइएकी राजकुमारीलाई ‘राम्रो उपचार गर’ भन्दै उनले ड्युटीमा रहेका कर्मचारीलाई गाली गरिरहेका थिए ।
रक्सीले टिल्ल भएका राज्यमन्त्रीले वितण्डा मच्चाइरहेको थाहा पाएपछि केही पत्रकार समाचार सङ्कलनका लागि अस्पताल पुगेका थिए । तर, यादव पत्रकारमाथि समेत जाइलागे । पत्रकारको सङ्ख्या बढ्दै गएपछि राज्यमन्त्री यादव पछाडिको ढोकाबाट कुलेलम ठोके ।
राज्यमन्त्री यादवले दुव्र्यवहार गरेको घटनाप्रति अस्पताल कर्मचारी युनियनले आपत्ति जनाएको छ । यसअघि हात भाँचिएको छोराको उपचार गर्न आउँदा र आफन्त बिरामी भएर ल्याउँदा पनि यादवले डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुव्र्यवहार गरेको युनियनले जनाएको छ । युनियनले राज्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गरेको छ । ‘राज्यमन्त्री यादवले अहिलेसम्म तीनपटक यस्तै व्यवहार प्रदर्शन गरिसकेका छन्,’ युनियनका सचिव मुडभरीले सौर्यसँग भने । यादवलाई सरकारले कारबाही नगरे कडा आन्दोलन गर्ने उनले बताए ।
यता, राज्यमन्त्री यादवको दुव्र्यवहारविरुद्ध बोलेका एक बिरामीका आफन्तलाई उल्टै प्रहरीले भ्यानमा कोचेको थियो । उपचाररत हजुरबालाई कुर्न बसेका यादव जिसीलाई प्रहरीले राज्यमन्त्रीविरुद्ध बोलेको भन्दै भ्यानमा लगेर कोचेको हो । पछि अस्पतालका कर्मचारी र चिकित्सकले जँड्याहा र रक्सीले मातिएका मन्त्रीविरुद्ध बोल्नेलाई किन भ्यानमा हालेको भनेर प्रतिरोध गरेपछि प्रहरीले उनलाई छाडेको थियो । ‘जँड्याहा मन्त्रीलाई केही गर्नु छैन, उल्टै कुरुवालाई लगेर भ्यानमा हालेका थिए,’ आकस्मिक कक्षमा कार्यरत खुवराज आचार्यले भने ।

सौर्य सहकर्मीमाथि हातपात
राज्यमन्त्री यादवले समाचार संकलन गर्न गएका पत्रकारहरूमाथि पनि दुब्र्यवहार गरेका छन् । अस्पतालको इमरजेन्सीमा डाक्टर, नर्स र कर्मचारीलाई गाली गरिरहेका यादवको फोटो खिच्न खोज्दा उनले सौर्य सहकर्मी ज्ञानेन्द्र कार्कीमाथि हातपात नै गरे ।
राज्यमन्त्रीले वितण्डा मच्चाएको सूचना पाएपछि पत्रकार समाचार संकलनका लागि वीर अस्पताल पुगेका थिए । तर, इमरजेन्सी गेटमा रहेका पाले र प्रहरीलाई मन्त्री यादवले गाली गर्दै पत्रकारलाई भित्र पस्न नदिन निर्देशन दिए । ठेलमठेल गर्दै पत्रकार भित्र पसेका थिए ।
अस्पतालका कर्मचारीलाई गाली गर्दै धम्क्याइरहेका राज्यमन्त्री यादवले पत्रकारलाई भित्र देखेपछि थप जंगिए । ‘ओई यी मा….. हरूलाई बाहिर पठा’ भन्दै कर्मचारीलाई गाली गरे । फोटो खिचिरहेका सौर्य सहकर्मी कार्कीमाथि त उनी आफँै झम्टिए । मन्त्री यादवले कार्कीलाई तीन झापड हिर्काउनुका साथै क्यामेरा खोसेर फाल्ने प्रयास गरे ।
आफूहरू पत्रकार भएको र समाचार संकलन गर्न आएकाले हातपात नगर्न पटक–पटक आग्रह गर्दासमेत उनी पत्रकारमाथि पनि खनिइरहे । राज्यमन्त्री यादव र उनका सहयोगीले कार्कीसँगै सौर्य सहकर्मी प्रवीण ढकाल, एभिन्युज टेलिभिजनका श्रीहरि थापा र राम तामाङलाई गाली गर्नुका साथै हातपात गर्ने प्रयास गरे ।

प्रतिक्रिया