सरकार संविधान र संघीयता बिरोधीः वैद्य

जनकपुर, ५ चैत । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले वर्तमान सरकार संघीयता र संविधान विरोधी रहेकाले आफूहरु बाध्य भएर आन्दोलन गर्न सुरु गरेको बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्यले वर्तमान सरकार संघीयता र संविधान विरोधी रहेको आरोप लगाए । शान्ति प्रक्रिया अन्तिम चरणमा रहेपनि दलहरुले पहिचानका आधारमा हुने संघीयताको विषयमा गम्भिर छलफल नचलाएको बताए ।

उनले अन्तिम चरणमा आएर कांग्रेस सहितका दलले संघीयताको विरोध गर्नु मुलुकका लागि विडम्बना भएको उल्लेख  गरे ।

उनले जनसंविधानको मुख्य गहना नै पहिचान सहितको संघीयता रहेकाले संघीयता बिनाको संविधान ल्याउने प्रयास गरिए मुलुक ठूलो द्वन्दमा फस्ने चेतावनी दिए ।

पार्टी फुटाउन लागेको संस्थापन पक्षको आरोपलाई खण्ड गर्दै बैद्यले पार्टीको आधिकारिक लाइन आफूहरु रहेको बताए । उनले आफ्नो विचार समूहले कुनै पनि हालतमा पार्टी नफुटाउने प्रतिबद्धता जनाए ।

शान्ति र संविधानलाई पूर्णता दिन सहमतीय सरकार अपरिहार्य रहेको र तीन दलबीच भएको सात बुँदे सहमतिका पक्षमा आफ्नो समूह रहेको बैद्यको भनाई थियो । उनले जेठ १४ मा संविधान जारी नभए जनताको विद्रोह सुनिश्चित रहेको भन्दै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

प्रतिक्रिया