प्रधानमन्त्रीले सहमतिको संस्कार छाडेः साना दल

काठमाडौं, ४ चैत । सहमति, सहकार्य र मेलमिलापको नीति त्यागेको भन्दै साना दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् । उनीहरुले यदि सहमति हुन्छ भने राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्री बाधक बन्न नहुने सुझाव दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा साना दलहरुले शान्ति र संविधानका साथै सरकार सञ्चालनको बिधिमा समेत सहमतिको संस्कार भुलेको आरोप लगाए । उनीहरुले मुलुकलाई निकास दिन सहमतिको कार्यशैलीमा तत्काल आउन सुझाव दिएको नेकपा (माले)का महासचिव तथा सभासद सीपी मैनालीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले सहमतिको कार्यशैली भुलेर एक्लै हिड्ने प्रयास गर्नु हुँदैन ।’

मितव्ययिताका नाममा फजुल खर्च, चियापाना, भ्रष्टाचार, मधेसी मोर्चाका अनुचित माग पुरा गर्ने, अन्तरिम संविधान संशोधनको तयारी गर्ने, फ्रितिव्वत आन्दोलनलाई मन्त्रीले नै बढावा दिने, सेना समायोजनमा भएको ढिलाई, कर्मचारी सरुवा, सिंचाई र सामान्य प्रशासन मन्त्रीका गतिविधि लगायतका बिषयमा साना दलहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै त्यस्ता कार्य तत्काल बन्द गराउन माग गरेको मैनालीले बताए ।

त्यसै गरेर प्रधानमन्त्रीले सरकार गठनका क्रममा गरेको प्रतिबद्धता पुरा नगरेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई हिमाल चढ्न २ करोड दिने जस्ता कार्य गरेरकोमा आलोचना भएको मैनालीले उल्लेख गरे ।

‘राष्ट्रिय सहमति बन्छ भने प्रधानमन्त्री बाधक हुन नहुने सुझाव अधिकांश दलले दिएका छन’, चुरे भावर राष्ट्रिय एकता पार्टीका महासचिव तथा सभासद बद्रि न्यौपानेले भने, ‘भ्रष्टाचार बढेको र फ्रितिब्बतको गतिविधि रोक्नपनि सुझाव आयो ।’

उनले सरकार बनाउने भन्दा पनि पहिला शान्ति प्रक्रिया टुङगाउने तर्फ जानुपर्नेमा आफूले सुझाव दिएको बताए ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति, संविधान र सरकारका कामकारबाही लगातका बिषयमा छलफल गर्न प्रधानमन्त्री भट्टराईले आज संविधानसभामा प्रतिनिधित्व गर्ने साना ११ दललाई बोलाएका थिए । बैठकको सुरुमै प्रधानमन्त्रीले शान्ति र संविधानका बिषयमा भएका काम र प्रगतिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया