बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड

रुपन्देही, ४ चैत । हर्नैयाका बिरामीको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि आज बुटवल बजारको अस्पताल लाईन क्षेत्र करिव ६ घण्टा तनाबग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गर्नुपरेको प्रहरी भनाई छ ।

शुक्रबार दिउसो हर्नैयाको उपचार गर्न लुम्बिनी नर्सिङ होममा भर्ना भएका रुपन्देही देवदह चरङ्गेका ३५ वर्षीय प्रेमबहादुर कामुको अप्रेशन गर्नु अगाडि बेहेश बनाउन लगाइने इन्जेक्सनका कारण होसै नआई मरेको भन्दै आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण अस्पताललाईन विहानैदेखि तनाबग्रस्त बनेको थियो ।

बिरामीको मृत्युपछि उनका आफन्तहरुले चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै बिहानदेखि नै अस्पतालमा ढुंगामुढा प्रहार गरी तोडफोड समेत गरेको प्रहरीले जनाएको छ । बिरामीको अप्रेसन नगर्दै नर्सिङ होमले उपचार गर्न नसकिने भनी चितवन रिफर गरेको अस्पतालको दावी छ ।

चितवनको भरतपुर अस्पताल लगेपछि शनिबार विहानै बिरामीको मृत्यु भएको पुष्टी गरिएको अस्पताल प्रशासनको दाबी छ ।

मृत्तकका आफन्तले सामान्य समस्यामा पनि चिकित्सकले लापरवाहीले गर्दा बिरामीले ज्यान गुमाएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने, मृत्तकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गर्दै अस्पताललाईनको यातायात अवरुद्ध समेत गरेका थिए ।

प्रदर्शनका कारण उत्पन्न तनाव कम गर्न प्रहरीले आधा दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरेर भिड हटाएपछि स्थिति सामान्य बन्दै आएको थियो । नर्सिङ होममा तोडफोड गर्न खोज्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टा पछि छाडेको छ ।

नर्सिङहोममा ढुंगामुढा प्रहार भएपनि क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक रामेश्वर कार्कीले बताए । विरामीका आफन्त र अस्पताल सञ्चालकहरुबीच प्रहरी कार्यालयमा भएको वार्तामा ५ लाख राहत दिने र घटनाको निश्पक्ष अनुसन्धान गर्ने सहमति भए पछि विवाद साम्य भएको छ ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रमेशमान सिंहको संयोजकत्वमा छानविन समिति गठन गर्ने र तत्कालै क्षेतिपूर्ती स्वरुप पाँच लाख उपलव्ध गराउने सहमति भएको प्रहरीले जनाएको छ ।

फोटो चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका विरामीका आफन्त र त्यसक्षेत्रका स्थानीयबासीहरु ।

प्रतिक्रिया