‘संघीय लोकतान्त्रिक संविधान जारी गर्न सुझाव’

काठमाडौं, ४ चैत । राष्ट्रपति रामवरण यादवले दलहरुका बीच भएको सहमति र प्रावधानअनुसार संघीय लोकतान्त्रिक संविधान जारी गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।

प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेतासँग आज शीतल निवासमा भएको भेटघाटका क्रममा राष्ट्रपति यादवले सहमति विपरित संविधान जारी गरिए धोका हुने भन्दै सचेत गराएका हुन् । उनले संविधान जारी गर्ने समय मुस्किलले साढे दुई महिना मात्रै रहेको भन्दै गम्भिर हुन र संविधानका बिवादित बिषयमा छिटो सहमति खोज्न समेत सुझाव दिए । उनले बाँकी रहेका शान्ति प्रक्रियाका कामपनि छिटो अघि बढाउने भनेका छन् ।

राष्ट्रपति यादवले शान्तिप्रक्रिया र संविधान लेखनका विषयमा भइरहेको प्रगति र निर्धारित समयभित्र ति कार्य पूरा हुनेहुन् वा होइनन् भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

राष्ट्रपति यादवले शान्तिप्रक्रियालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुरायाएर जेठ १४ भित्र नै संविधान लेखनको कार्य पूरा गर्नुपर्ने तथा त्यसका लागि दलहरुबीचको छलफललाई घनिभूत बनाएर विवादित विषयमा सहमति कायम गर्न नेताहरुलाई आग्रह गरेका थिए ।

जवाफमा शीर्ष नेताहरुले शान्तिप्रक्रिया र संविधानका विषयमा दलहरुबीच विभिन्न चरणमा छलफल भइरहेको र यसबाट विवादित मुद्दामा सहमति काम भई मुलुकले निकास पाउने बताएका थिए ।

छलफलपछि सञ्चारकर्मीसँग कुरागर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिबाट मुलुकमा जारी शान्ति प्रक्रियाको वर्तमान स्थिति र संविधान लेखनका बिषयमा जानकारी लिएको बताए । उनले आफूहरुले दलहरुबीच सहमति भएन भने जेठ १४ पछि राष्ट्रपतिले सत्ता लिन्छन् भन्ने आमभ्रम अन्त्य भएको महसुश गरेको बताए । उनले शान्ति र संविधानलाई सर्वोपरी ठानेर दलहरुबीच व्यापक छलफल हुनुपर्नेमा राष्ट्रपतिले सुझाव दिएको बताए ।

कांग्रेस सभापति सुशील कोइरालाले गत कात्तिकमा भएको सातबुँदे सहमतिलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमा मुलुकको शान्तिप्रक्रिया र संविधान लेखन कार्यले पूर्णता पाउने भएकाले दलहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले दलहरुबीचको छलफललाई तिव्ररुपमा अगाडि बढाउन र दलहरु समक्ष रहेका आशङ्कालाई मेट्न आवश्यक रहेको उल्लेख गरे ।

सभापति कोइरालाले भने, ‘शान्ति प्रक्रियाका काम अगाडि नबढ्दा सम्म संविधानका बिवादित बिषयमा सहमति हुँदैन ।’

एमाले अध्यक्ष झलनाथ खनालले सातबुँदे सहमतिअनुसार अगाडि बढ्ने हो भने मुलुकको शान्ति प्रक्रिया र संविधानले तिव्रता पाउने निश्चित भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रपति यादवबाट पनि सहमतिअनुसार अगाडि बढ्न सुझाव दिएको बताए ।

उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले चाँडोभन्दा चाँडो शान्तिप्रक्रियालाई निष्कर्षमा पुराएर संविधान लेखनलाई पूर्णता दिनुको विकल्प नभएको बताए । उनले जेठ १४ भित्र सङ्घीयताविनाको संविधान ल्याउनु गलत हुने भन्दै संघीयतामा धोका भए आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रपति यादवसँगको छलफलमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको उपस्थिति थियो ।

प्रतिक्रिया