प्रकाशलाई २ करोड दिने निर्णय बिरुद्ध चक्का जाम

काठमाडौं, ३ चैत । सरकारले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सम्मलित टोलीलाई सगरमाथा आरोहणका लागि २ करोड रुपियाँ दिन गरेको निर्णयाको बिरोधमा युवा संघले आज राजधानीमा प्रदर्शन गरेको छ ।

संघका नेता तथा कार्यकर्ताले सरकारले प्रकाश दाहाललाई हिमाल चढ्नकै लागि रकम दिएर जनघाती काम गरेको बिरोधमा नयाँ बानेश्वरमा केही समय चक्का जाम गरेको अध्यक्ष महेश बस्नेतले जानकारी दिए । उनले सरकारले एक पछि अर्को जनघतीकाम गर्न लागेकाले बाध्य भएर सडकमा उत्रिनुपरेको जनाए ।

चक्काजामका कारण बानेश्वर क्षेत्रको सवारी आवागमन केही समय प्रभावित समेत भएको थियो ।

संघका अध्यक्ष बस्नेतले प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा चढ्नका लागि २ करोड दिन गरेको निर्णय फिर्ता नलिए थप आन्दोलन चर्काउने चेतावनी दिए । आन्दोलनका लागि भोली संघले पत्रकार सम्मेलन समेत राखेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहणका लागि २ करोड दिने निर्णय गरेलगत्तै चौतर्फि बिरोध सुरु भएको थियो ।

यसैवीच, नेपाल तरुण दलले पनि प्रकाश दाहाललाई सगरमाथा चढ्न सरकारले उपलब्ध गराएको २ करोड रकमको बिरोध गरेको छ । उसले रकम दिने निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

प्रतिक्रिया