शान्ति प्रक्रियामा अबरोध गर्दैनौः माओवादी

काठमाडौं, २ चैत । शान्ति प्रक्रिया र सात बुँदे सहमति कार्यान्वनय नगरेको भन्दै आलोचना खेपिरहेको एकीकृत माओवादीले शान्ति प्रक्रियालाई गति दिन आफू तयार रहेको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान बसेको केही पदाधिकारी र पोलिटव्युरो सदस्यको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएर संविधान जारी गर्न सहयोग गर्ने सहमति गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं माओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टमगरले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै बिष्टले शान्ति र संविधान निर्माण प्रक्रियामा माओवादीले कुनै अवरोध नगर्ने बताए । मन्त्री विष्टले भने, ‘शान्ति प्रक्रिया र संविधान लेखनको काममा माओवादीका तर्फबाट कुनै अवरोध सिर्जना हुँदैन ।’

माओवादी सेनाका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रस्ताव प्रधानमन्त्री बाबुराम भट्टराईले बिशेष समितिमा पेस गरेका बिषयमा पनि नेताहरुका बीच छलफल भएको छ । भोलि शुक्राबर बस्ने बिशेष समिति बैठकमा समायोजनको प्रस्तावमा छलफल हुँदैछ । नयाँ प्रस्तावको दुई विपक्षी दल कांग्रेस र एमालेले बिरोध जनाई सकेका छन् ।

पदाधिकार र पोलिटब्युरोका केही सदस्यको मात्रै सहभागिता रहेको बैठकमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका कुनैपनि सदस्यको सहभागिता थिएन ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई, स्थायी समिति सदस्य कृष्णबहादुर महरा र लिलामणि पोखरेल, पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टलगायतका स्थायी समिति सदस्य तथा केही पोलिट्ब्युरो सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया