मन्त्री र सचिवबीच भनाभन

काठमाडौँ, १ चैत । कर्मचारी सरुवामा कुरा नमिल्दा सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव र सचिव विन्द्रा हाडाबीच मन्त्रालयमै चर्को भनाभन भएको छ । मन्त्री यादवको निर्देशनअनुसार सचिव हाडाले कर्मचारीे सरुवा गर्न नमानेपछि बुधबार उनीहरूबीच रस्साकसी भएको हो ।
मन्त्री यादवले सचिव हाडालाई आफ्नै कार्यकक्षमा बोलाएर केही कर्मचारीको सरुवा बदर गरी नयाँ कर्मचारी पठाउनुपर्ने भएकाले त्यसअनुसार फाइल तयार पार्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनअनुसार कर्मचारी सरुवा हुन नसक्ने अडान सचिव हाडाले लिएपछि उनीहरुबीच बुधबार केही समय दोहोरी नै चलेको थियो ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रीले आफ्नो खल्तीबाट नयाँ लिस्ट निकाल्दै यी ‘कर्मचारीको सरुवा गर्नुप¥यो’ भन्दै सचिवलाई दिएका थिए । सचिव हाडाले मन्त्रीको लिस्टमा परेका कर्मचारी सरुवाको मापदण्डमा नपर्ने बताएकी थिइन् ।
सचिवले निर्देशनअनुसार सरुवा गर्न नसक्ने बताएपछि आक्रोशित बनेका मन्त्री यादव हाडालाई ‘भ्रष्टाचारी कर्मचारीको नेतृत्व गर्ने व्यक्ति’ भएको आरोप लगाउँदै जङ्गिएका थिए । ‘मन्त्रीले भनेको कुरा नमान्ने तपाईं को हो ? तपाईंका बारेमा मलाई राम्रो जानकारी छ,’ यादवको भनाइ उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘मैले भनेको तपाईं मान्नुहुन्न भने तपाईंका कर्तुतको भन्डाफोर गरिदिन्छु ।’
स्रोतका अनुसार यादवले हाडामाथि केही कर्मचारीबाट पैसा लिएर उनीहरुलाई राम्रो स्थानमा सरुवा गरेको आरोप लगाएका थिए । यादवले ‘तपाईंले कर्मचारीबाट पैसा नलिएको भए किन मेरो निर्देशनअनुसार सरुवा गर्नुहुन्न’ भन्दै प्रश्नसमेत गरेका थिए ।
मन्त्री यादवले मन्त्रालयमा सचिव हाडासँग कर्मचारी सरुवाबारे विवाद भएको प्रतिक्रिया दिए । उनले सौर्यसँग भने, ‘मन्त्रालयका कामबारे मन्त्री र सचिवबीच सामान्य भनाभन भइरहन्छ ।’ सचिव हाडाबाट आफूले सकारात्मक सहयोग नपाएको उनी बताउँछन् । उनले सचिवका केही अराजक र हठ्ठीपनलाई आफूले नियन्त्रण गर्न खोजेको दाबी गर्दै अरु केही नभएको बताए । उनले भने, ‘मन्त्रालयका कर्मचारी सरुवामा मैले सचिवबाट सहयोग नपाएकाले सामान्य भनाभन भएको हो ।’
‘मन्त्रीले सचिवलाई तपाईंबाट मैले सहयोग पाउन सक्दिनँ भने म किन काम गर्ने ? तुरुन्त तपाईंलाई सरुवा गरेर नयाँ सचिव ल्याउँछु, त्यो अधिकार मलाई छ भने,’ मन्त्री र सचिवबीचको छलफलमा सहभागी एक उपसचिवले भने, ‘मैले भनेअनुसार सरुवाको नयाँ लिस्ट तयार गर्नु हुन्न भने तपाईंलाई क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरिदिन्छु । तपाईंले मेरो ‘पावर’लाई ख्यालख्याल ठान्नुभएको होला, मन्त्रीले चाह्यो भने जे पनि हुन्छ, मेरा लागि सचिवहरु त केही होइनन् ।
मन्त्रीले ‘सचिवजी, तपार्इं त निकै खतम र अराजक मान्छे हुनुहुँदो रहेछ’समेत भन्न भ्याएका थिए । ‘तपाईंको रुखो र अराजक शैलीका कारण धेरै मन्त्रीले नरुचाएका रहेछन्,’ सचिव हाडालाई चोर औंँला ठड्याउँदै उनले भने, ‘तपाईंको नियत मैले बुझेको छु, हेर्दै जानुहोला ।’
मन्त्रीको प्रश्नको जवाफमा सचिवले ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत नै बिर्सेर कुरा नगरे हुन्छ’ भनिन् । ‘कस्ता कर्मचारी किन सरुवा गर्न खोज्दै हुनुहुन्छ’ भन्दै हाडाले त्यसबारे आफू जानकार रहेको जवाफ दिइन् । त्यसैले अरुलाई आरोप लगाउनुअघि सोचेर मात्र बोल्न उनले सुझाएकी थिइन् । ‘तपाईंको गोजीमा रहेका कर्मचारी सरुवा गर्नु भनेको नियम र कानुनको धज्जी उडाउनु हो, त्यसैले तपाईंले ममाथि आरोप लगाउँदैमा केही हुँदैन,’ हाडाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले कुनै कर्मचारीबाट पैसा लिएको पत्ता लगाउनुस्, म जस्तोसुकै सजाय भोग्न तयार छु तर कानुनविपरीत काम हुन दिन्न ।’
स्रोतका अनुसार मन्त्रीको निर्देशन अस्वीकार गरी सचिवले नियम मिचेर मन्त्रीको मात्र होइन प्रधानमन्त्रीको सिफारिसबाट आएको कर्मचारीको सरुवासमेत नगर्र्ने स्पष्ट पारिन् । मन्त्रीको कडा प्रतिवाद गर्दै उनले आफू मन्त्रीको भनाइमा काम गर्ने सचिव नभएको भन्दै नियम र कानुनमा रहेर मात्र काम गर्ने बताएकी थिइन् । ‘तपाईंको गलत निर्णय मान्नुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘मैले तपाईंजस्ता धेरै मन्त्रीसँग काम गरेकी छु, कसको हैसियत के हो भन्ने पनि राम्रो जानकारी छ । यो विन्द्रा कसैसँग डराउने सचिव होइन सक्नुहुन्छ भने सरुवा गरे हुन्छ ।’
सचिव हाडाले आफूले मन्त्रीले सोधेको प्रश्नको जवाफमा राम्रो उत्तर दिएको बताइ्न् । उनले भनिन्, ‘मन्त्रीको अनावश्यक प्रश्नको जवफ मैले राम्रैसँग दिएँ ।’ छलफलमा धेरैखाले कुरा उठेको र आरोपप्रत्यारोपका कुरा भएको उनको भनाइ छ ।
मन्त्रालयले सोमबार दुई सय ४१ कर्मचारीको सरुवा लिस्ट तयार गरी आन्तरिक परिपत्रसमेत जारी गरेको थियो, जसमा ४७ कर्मचारीलाई पदस्थापना र एक सय ९६ जनाको सरुवा गरिएको हो ।

प्रतिक्रिया