हाईड्रो पावरमा लगानी भित्राउनु पर्छ

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको जिम्मेवारी पुरा गरेपछि मुलुकमा जल विद्युतबाट आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आजदेखि सुरु भएको हाईड्रो पावर समिट–२०१२ को उद्घाटनका क्रममा प्रधानमन्त्री भट्टराईले जल विद्यत नयाँ नेपालको आर्थिक क्रान्तिको सुत्रधार रहेको बताए । उनले जलविद्युतको विकास गर्नसके मुलुकमा आर्थिक क्रान्ति गर्न संभव रहेको बताए ।
जलविद्युतका लागि लगानी भित्राउनु अति आवश्यक रहेको बताएका भट्टराईले विदेशी र स्वदेशी लगानीलाई आकर्षित गर्न सरकारले नीति बनाउदै गरेको बताए ।
उर्जामन्त्री पोष्टबहादुर बोगटीले केही जल बिद्युत आयोजनामा समस्या भएको भन्दै समस्या समाधान गरेर महत्वकांक्षी योजना समयमा पुरा गर्ने बताए । उनले समस्या भएका आयोजनको निकासका लागि पहल भईरहेको बताए । मन्त्री बोगटीले नेपाल र भारतबीचको सम्बन्धलाई अझै मजबुद बनाएर जल विद्युतमा भारतीय लगानी भित्राउनुपर्ने बताएका थिए ।
सिंचाई मन्त्री महेन्द्र यादव नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध समेत रहेकाले दुई मुलुक मिलेर जल विद्युतमा विकास सहयोग आदान प्रदान गर्नुपर्ने बताए । उनले भारतको सहयोग मिलेर नेपालमा विकास गर्न सहयोग हुने बताएका थिए ।
नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले नेपाल दक्षिण एशियाको ठूलो हाईड्रो पावरको सम्भावना रहेको मुलुक भएको भन्दै उर्जा सुरक्षाका लागि नेपाल र भारत मिल्नुपर्ने बताए । उनले नेपालले हाईड्रो पावरमा विकास गर्नु मुलुकका लागि अतिआवश्यक रहेको बताए ।
राजधानीमा सुरु भएको हाईड्रो पावर समिट–२०१२ को आयोजक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल ईण्डीया चेम्वर अफ कमर्श, ईप्यान नेपाललगायतले गरेका हुन् । सम्मेलनमा नेपाल र भारतका झण्डै ४ सय विज्ञको सहभागिता रहेको छ ।

प्रतिक्रिया