ऋण तिर्न नसक्दा सुकुम्बासी

सुर्खेत, ३० फागुन । तरङ्गा–५ राजीगाउँका ६३ वर्षीय रामलाल राजी पत्नी बिरामी हुँदा लिएको ऋण तिर्न नसकेर सुकुम्वासी भएका छन् । १६ वर्षअघि ११ कठ्ठा जमिन भएका राजी अहिले पाँच धुर जग्गामा रहेको सानो झुपडीमा पाँचजनाको परिवारसहित गुजारा गर्दै छन् ।
‘पत्नी बिरामी हुँदा छिमेकीसँग तीन हजार रुपियाँ ऋण लिएको थिएँ । त्यही ऋण तिर्न नसक्दा सबै जग्गा छिमेकीले हडप्यो,’ उनले भने, ‘कुनै प्रक्रिया नै नपु¥याई ११ कठ्ठा जग्गा आफ्नो बनायो ।’
असार, २०५२ मा पत्नी चन्द्रा बिरामी हुँदा राजीले गाउँकै भण्डारी थरका छिमेकीसँग तीन प्रतिशत ब्याज तिर्ने गरी तीन हजार रुपियाँ ऋण लिएका थिए । ६ महिनासम्म साँवा र ब्याज चुक्ता गर्ने सहमति भएको थियो । तर, समयमा साँवा र ब्याज बुझाउन नसकेपछि उनको जग्गा भण्डारीले आफ्नो नाममा बनाएका हुन् । ‘जहिलेसम्म मेरो पैसा तिर्न सक्दैनौँ, त्यतिबेलासम्म यो जग्गा मेरो भन्दै हामीलाई घरबाट निकाल्यो,’ उनले भने ।
खेतीपाती गर्ने जग्गा अर्कैको भएपछि राजी अहिले भेरीमा माछा मार्ने र डुङ्गा तारेर जीविकोपार्जन गर्दै छन् । पहिला जमिन्दार भए पनि अहिले सुकुम्बासी हुनेमा पोखरीकाँडा–४ का ६१ वर्षीय दलबहादुर राजी पनि हुन् । घरायसी कामका लागि गाउँकै एक साहुसँग लिएको ऋण तिर्न नसक्दा अहिले सुकुम्बासी भएका छन् । ‘सात हजार रुपियाँ तिर्न नसक्दा साहुले नौ कठ्ठा जग्गा नै लग्यो,’ उनले भने, ‘अहिले ज्यालादारी गरेर जीविकोपार्जन गर्नु
परेको छ ।’
३० वर्षअघिसम्म छिन्चुका जगतबहादुर राजी पनि गाउँका जमिनदार थिए । उनीसँग चार बिघा जग्गा थियो । अहिले उनका पाँच भाइ छोरा सुकुम्बासी बनेका छन् । जगतका जेठा छोरा टेकबहादुर भन्छन्, ‘बुबाको चार बिघा जग्गा भएको भए अहिले हामीलाई दुई छाक टार्न समस्या हुने थिएन ।’
रामलाल, दलबहादुर र टेकबहादुर मात्रै होइन, पहिले जमिनदारका रूपमा रहेका राजी जाति अहिले धमाधम सुकुम्बासी हुँदै छन् । उनीहरूको जग्गा गाउँकै टाठाबाठाले हडपेर आफ्नो बनाएका छन् ।
राजी सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको वातावरण सुधार समाज, सुर्खेतका कार्यक्रम संयोजक रुद्र आचार्यका अनुसार राजीहरूको जग्गा अरूले उपभोग गरेकाले राजीहरू सुकुम्बासी भएका हुन् । शैक्षिक र आर्थिक रूपमा पछाडि परेका राजी जातिलाई दिइएको सानोतिनो ऋणकै कारण सुकुम्बासी बन्नुपरेको साल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताए । राजी जातिको हडपिएको जग्गा फिर्ता पाउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया