प्रधानमन्त्रीको प्रस्तावमा विपक्षी दल असन्तुष्ट

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री एवं माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिका संयोजक बाबुराम भट्टराईले सेना समायोजनका लागि ल्याएको नयाँ प्रस्ताव सात बुँदे सहमति विपरित रहेको भन्दै विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् ।
सिंहदरबारमा आज बसेको बिशेष समिति बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस नेता तथा समिति सदस्य रामशरण महतले सेना समायोजनका बिषयमा प्रधानमन्त्रीले ल्याएको प्रस्ताव सात बुँदे सहमति र त्यसको भावना विपरित रहेको बताए । उनले भने, ‘सेना समायोजनको प्रस्ताव हात्ती आयो हात्ती फुस्सा जस्तै छ ।’ उनीहरुले सेना समायोजन सम्बन्धी नयाँ प्रस्ताव नमान्ने चेतावनी दिएका छन् ।
एमाले नेता तथा समिति सदस्य भीम रावलले प्रधानमन्त्रीले सेना समायोजनका लागि ल्याएको प्रस्तावले शान्ति प्रक्रिया पुरा हुनेमा आशंका उब्जाएको टिप्पणी गरे । उनले सहमति विपरित ल्याएको प्रस्तावलाई मान्न नसकिने बताए ।
प्रधानमन्त्रीले सेना समायोजनका लागि ल्याएको नयाँ प्रस्तावमा महानिर्देशनालय गठन, दर्जा निर्धारण, महानिर्देशनालयको दोस्रो नेतृत्व लगायतका बिषय रहेका छन् । विपक्षी दलहरुले प्रतिवेदनमा प्रारम्भिक टिप्पणी गरेपनि थप छलफलका लागि बिशेष समिति बैठक आगामी शुक्रावर पुनः गरि स्थगित गरिएको छ ।
बैठकमा प्रधानमन्त्री भट्टराईले लडाकुका १३ शिविर घटाएको बारेमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया